काठमाण्डौ । निजी क्षेत्रद्वारा संचालित अस्पतालहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन नेपाल(अफिन)ले पीसीआर टेस्ट गर्ने निजी ल्याबको समस्याको विषयमा आज स्वास्थ्य मन्त्रालयसँग वार्ता गर्ने भएको छ । 

अफिनका एक अधिकारीका अनुसार निजी ल्याबका संचालकहरुको समेत सहभागितामा वार्ता गर्न स्वास्थ्य मन्त्रालयले आज दिउँसो १ बजेको समय दिएको छ । 

कोरोना संक्रमण पत्ता लगाउनका लागि आवश्यक पीसीआर टेस्टको शुल्कको विषयमा निजी ल्याबका संचालकहरुले असहमति जनाउँदै आएका छन् । सरकारले प्रतिपीसीआर परीक्षण २ हजार मात्र शुल्क लिन भने पनि निजी ल्याबहरुले २ हजार रुपैयाँमा पीसीआर परीक्षण गर्न नसकिने भन्दै आएका छन् । 

यही विषयमा सरकार र निजी ल्याबबीच देखिएको विवाद मिलाउन अफिनले सहजकर्ताको भूमिका निर्वाह गरेको हो । 

गत शुक्रबार अफिन र निजी ल्याबका संचालकबीच बैठक भएको थियो । सोही बैठकले निजी क्षेत्रका ल्याबहरुको समस्यालाई वार्ताबाट समाधान गर्न सरकारलाई आग्रह गरेको थियो । अफिनको आह्वानलाई स्वास्थ्य मन्त्रालयले समेत सकारात्मक रुपमा लिएपछि वार्ताको वातावरण बनेको हो । 

वार्तामा अफिनले निजी ल्याबहरुलाई परेको मर्काको विषयमा पुनर्विचार गरिदिन सरकारसँग आग्रह गर्ने बुझिएको छ । ‘अनौपचारिक कुराकानीमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरु पनि निजी ल्याबहरुलाई मर्का परेको विषयमा सहमत हुनुहुन्छ ।’ अफिनस्रोतले भन्यो–‘संभवत हाल २ हजार रुपैयाँ रहेको पीसीआर परीक्षणको शुल्क सहमतिमै ३ हजार वा ३५०० सम्म पुग्ने विषयमा सहमति बन्छ होला ।’