काठमाण्डौ । पुँजीबजार सुधारका लागि लगानीकर्ताहरुले अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटेर छलफल गरेका छन्। 

अर्थमन्त्री महतसँग भएको भेटमा लगानीकर्ताहरुलाई पुँजीबजार सुधार र नेपालको आन्तरिक अर्थतन्त्रमा देखिएको समस्याको विषयमा छलफल गरेका हुन्। करिब ३० मिनेट समय भएको छलफलका क्रममा लगानीकर्ताहरुले हाल थला परेको पुँजीबजार सुधार गरी चलायमान बनाउन तथा लगानीकर्ताको मनोबल उकास्नका लागि हाल रहेको पुँजीगत लाभकर ५ प्रतिशत र ७.५ प्रतिशतलाई घटाएर ३ प्रतिशत र ५ प्रतिशत कायम गरिनुपर्ने सुझाव दिएका छन्। 

यसैगरी हालै धितोपत्र बोर्डले पारित गरेर अर्थ मन्त्रालयमा पेस गरेको ब्रोकर कमिसन घटाउने निर्णय तत्काल लागू गर्न ढिला नगरी दसैँलगत्तै अर्थबाट स्वीकृत दिनुपर्ने लगानीकर्ताले आग्रह गरेका छन्। 

लगानीकर्ताले ५० लाख रुपैयाँमाथिको सेयर कर्जामा हाल रहेको रिस्क वेटेज रेसियो १५० प्रतिशतलाई पुनः १०० प्रतिशतमै झार्नुपर्ने सुझाव पनि दिएका छन्। 

यस्तै सेयर कर्जामा १५ करोड र २० करोड रुपैयाँको सीमालाई खारेज गरिनुपर्ने माग लगानीकर्ताहरुले अर्थमन्त्रीसमक्ष राखेका छन्। 

देशको आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन तथा युवा उद्यमीलाई लगानीका लागि वातावरण बनाउन अर्थतन्त्रसम्बन्धी स्थायी नीति लिनुपर्ने, एनआरएनलाई पुँजीबजारमा लगानी गर्न आवश्यक कानुन तथा व्यवस्था गर्न अर्थ मन्त्रालयले तत्काल पहल गर्नुपर्ने र अर्थ मन्त्रालयले यसअघि गर्छु भनेर लगानीकर्तासँग सम्झौता गरेका ५८ बुँदेका बाँकी काम तत्काल गर्न पहल गर्नुपर्ने सुझाव लगानीकर्ताले दिएका छन्। 

छलफलका क्रममा अर्थमन्त्री महतले लगानीकर्तालाई आवश्यक सकारात्मक कदमहरु चाँडै लिने प्रतिबद्धता लगानीकर्तासँग गरेका छन्। 

अर्थमन्त्री महतसँगको छलफलमा नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनिया, स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्कीलगायतको उपस्थिति थियो।