काठमाण्डौ । नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले सेयर कारोबार गर्दा लाग्ने पुँजीगत लाभकर घटाउनुपर्ने बताएका छन्।

नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघको संयुक्त आयोजनामा आज भएको लगानीकर्ता अन्तर्क्रिया कार्यक्रममा रौनियारले यस्तो धारणार ाखेका हुन्। अहिले अल्पकालीन लगानीकर्तालाई लगाइँदै आएको ७.५ प्रतिशत पुँजीगत लाभकर घटाएर ५ प्रतिशतमा झार्नुपर्ने उनले बताए। 

हाल अल्पकालीन लगानीकर्तालाई ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ५ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था रहेको छ। 

रौनियारले अहिलेको ब्रोकर कमिसन पनि धेरै रहेको बताए। ‘ब्रोकर कमिसन पनि घटाउनुपर्छ’, उनले भने। 

पुँजीबजार सुधार र विकासका लागि गैरआवासीय नेपालीलाई पनि पुँजीबजारमा भित्र्याउनुपर्ने रौनियारको भनाइ थियो। ‘यो काम सरकारले तत्कालै गर्नुपर्ने देखिन्छ’, उनले भने।

रौनियारले पुँजी बजार सुधार र विकासका लागि राष्ट्र बैंक र अब आउने अर्थमन्त्रीले मिलेर काम गर्नुपर्ने सुझाव पनि दिए।