काठमाण्डौ । सरकारले सेयर बजारमा लगाउँदै आएको पुँजीगत लाभकरको व्यवस्थालाई यथावत राखेको छ। योसँगै सेयर लगानीकर्ताहरुले पुँजीगत लाभकर घटाउनुपर्ने माग पूरा हुन सकेन। 

सेयर लगानीकर्ताले विद्यमान पुँजीगत लाभकर घटाएर अल्पकालीनलाई ५ प्रतिशत र दीर्घकालीनलाई ३ प्रतिशत कायम गर्नुपर्ने माग गर्दै आएका थिए। तर, सरकारले ल्याएको आर्थिक विधेयक २०८०मा पुँजीगत लाभकरलाई यथावत राखिएको छ। 

हाल पुँजीबजारमा अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका लागि पुँजीगत लाभकरमा फरक–फरक व्यवस्था रहेको छ। ३६५ दिनभन्दा कम अवधि सेयर होल्ड गर्ने अल्पकालीन लगानीकर्तालाई ७.५ प्रतिशत र ३६५ दिनभन्दा बढी सेयर होल्ड गर्ने दीर्घकालीन लगानीकर्तालाई ५ प्रतिशत लाभकरको व्यवस्था छ।

सरकारले सेयर र घरजग्गाको कारोबार प्राकृतिक व्यक्तिले व्यावसायिक कारोबार गर्दा पुँजीगत लाभकर नै अन्तिम कर नहुने गरी आयकर तिर्नेलाई छुट दिने घोषणा भने गरेको छ। ‘प्राकृतिक व्यक्तिले नियमित व्यवसायका रुपमा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारको आय विवरण तथा कर दाखिल गर्न बाँकी रहेको भए आर्थिक वर्ष २०७६–७७ देखि २०७८–७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको ५० प्रतिशत रकम २०८० चैत मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुनेछ’, आर्थिक विधेयकमा उल्लेख छ।

यसरी कर दाखिल गर्ने प्राकृतिक व्यक्तिको सोभन्दा अघिल्ला आर्थिक वर्षहरुको कर, शुल्क तथा ब्याज मिनाहा हुने विधेयकमा भनिएको छ। 

सरकारले भने प्राकृतिक व्यक्तिले व्यावसायिक रुपमा गरेको घरजग्गा तथा सेयरको कारोबारबाट प्राप्त आयमा गएका ३ वर्षमा ५० प्रतिशत भएपनि आयकर उठाउने लक्ष्य लिएको छ।

सेयर लगानीकर्ताले पनि पुँजीगत लाभकरलाई नै अन्तिम कर हुने घोषणा हुनुपर्ने माग गर्दै आएका थिए।