काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजीबजार सुधारका लागि गर्नुपर्ने काम आफूले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

सेयर लगानीकर्तासँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री शर्माले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। ‘म पुँजीबजार पछिल्लो अवस्थाबाट निकै चिन्तित छु, यसमा सुधार गर्नुपर्ने काम मैले गर्नेछु, यसका लागि लगानीकर्ताहरुबाट प्राप्त रायसुझावलाई मनन गर्ने छु’, उनले भने। 

अर्थमन्त्री पौडेलले पुँजीबजारसँग समग्र अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन आफू लागिपर्ने पनि बताएका छन्। ‘समग्र अर्थतन्त्रलाई सुधार गर्दै समृद्ध नेपाल बनाउने सरकारको पहिलो प्राथमिकता रहेको छ’, उनले भने। 

अर्थमन्त्रीसँगको छलफलमा नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, महासचिव दुर्गा तिवारी, सेयर लगानीकर्ता संघका अध्यक्ष तारा फुल्लेल र नेपाल सेयर लगानीकर्ता संघका पदाधिकारीहरु उपस्थित थिए। 

लगानीकर्ताहरुले अर्थमन्त्री पौडेलसामु पुँजीबजार सुधारका लागि विभिन्न सुझाव पेस गरेका छन्। उनीहरुले सेयर धितो कर्जामा १२ करोडको सीमा तत्काल हटाउनुपर्ने, भारित औसत दर १०० प्रतिशत झार्नुपर्ने र बैंकहरुलाई ब्रोकर लाइसेन्स दिनुपर्ने सुझाव दिएका छन्। 

आफूहरुले राखेका सुझावप्रति अर्थमन्त्री पौडेल सकारात्मक रहेको नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष ढकालले बताए।