काठमाण्डौ । सरकारको नीति तथा कार्यक्रममा पुँजीबजारलाई प्राथमिकतामा राखिएको छ। 

सरकार सञ्चालन गर्न बनाइएको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुँजीबजारलाई समेत समेटेर आज सरकारको नीति तथा कार्यक्रम तयार पारी प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका हुन्। 

१५ पृष्ठ लामो नीति तथा कार्यक्रममा पुँजीबजारमा आएको गिरावटलगायतका समस्यालाई तत्काल सम्बोधन गर्न सुझाव दिइएको छ। ‘दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण नेपालको समग्र औद्योगिक उत्पादन तथा व्यवसायिक क्षेत्रमा आएको ह्रास, वित्तीय क्षेत्रमा तरलता संकुचन, उच्च ब्याजदर, बढ्दोव्यापार घाटा, न्यून पुँजीगत खर्च, घट्दो राजस्व संककलन, विदेशी मुद्रा सञ्चितीमा परेको दबाब तथा पुँजीबजारमा आएको गिरावटलगायतका समस्यालाई औद्योगिक, वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण ढंगले कार्यान्वयन गरी अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने’, नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। 

वित्तीय, मौद्रिक, पुँजीबजार, सहकारी, बीमा र निजी कम्पनीका निकायबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवरद्धन गर्न आवश्यकताअनुसार नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। 

सरकारले नागरिकहरुलाई सेवासुविधा दिने, शिक्षा स्वास्थ्यलगायतका क्षेत्रका विकृतिहरु सुधार्ने, बिग्रेको आर्थिक अवस्था सुधार ल्याउनेदेखि सन्तुलित कूटनीतिक सम्बन्ध राख्ने, सरकारले न्यायपालिकामा संरचनागत परिवर्तन र सुधार गर्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठनलगायतका विषय नीति तथा कार्यक्रममा समेटिएका छन्।

आज बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ।