– प्रकाश न्यौपाने

काठमाण्डौ । नेपालको तुलनामा छिमेकी मुलुकहरुको पुँजीबजारले निकै फड्को मारिसकेको छ। तर, नेपालमा भने यस क्षेत्रको विकास र विस्तार कछुवाको गतिमा भइरहेको छ। 

पछिल्लो समय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया अगाडि बढाएको छ। तर, बजार जानकारहरुबीच नयाँ स्टक एक्सचेन्ज सञ्चालन ल्याउने विषयमा मतभेद देखिन्छ। 

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार पुँजीबजार विकास र विस्तारका लागि नयाँ स्टक एक्सचेन्ज आउन आवश्यक रहेको बताउँछन्। ‘संसारभर नै कुनै पनि कुराको विकास हुनका लागि एक–अर्कामा प्रतिस्पर्धा हुन जरुरी छ’, उनले भने, ‘त्यसैले हालको नेपाल स्टक एक्सचेन्जलाई पनि सुधार गर्न अर्को स्टक एक्सचेन्जको आवश्यकता मैले देखेको छु।’

नयाँ स्टक एक्सचेन्जको स्थापनापछि लगानीकर्ताले अहिलेको भन्दा धेरै राम्रो सुविधा पाउने रौनियारको विश्वास छ। ‘नयाँ स्टक एक्सचेन्जले आईपीओ जारी गरेर सर्वसाधारणलाई सेयर होल्डर बनाउनेछ’, उनले भने, ‘यो भनेको लगानीकर्ताका लागि खुसीको कुरा हो।’ 

लगानीकर्ताले चाहेअनुसार अन्तर्राष्ट्रियस्तरको इन्ट्राडे, सर्ट सेललगायतका सुविधा प्रयोग गर्न पनि नयाँ स्टक आवश्यक रहेको रौनियारले बताए। ‘नयाँ स्टक एक्सचेन्ज आएपछि हालको नेपाल स्टक एक्सचेन्जले पनि आफूलाई प्रतिस्पर्धाको बाटोमा लग्नेछ, उसले पनि लगानीकर्तालाई अहिलेको भन्दा राम्रो सेवा–सुविधा दिन बाध्य हुनेछ’, उनले भने। 

‘केही समयपहिले नेपाल टेलिकममात्र हँुदा प्रयोगकर्ताले महँगो शुल्क तिर्नुपथ्र्यो। फोन आउने र जाने दुवैतर्फको शुल्क तिर्नुपथ्र्यो, सेवाको गुणस्तर पनि राम्रो थिएन’, रौनियारले भने, ‘जब एनसेल आयो, त्यसपछि नेपालको दूरसञ्चार क्षेत्रले ठूलो फड्को मार्यो, प्रयोगकर्ताले पहिलेभन्दा धेरै सवा–सुविधा पाउँदै गएका छन्। नेपाल टेलिकम पनि प्रतिस्पर्धी बन्दै गएको छ। जसले गर्दा आमप्रयोगकर्ताले विगतको भन्दा दुवै दूरसञ्चार कम्पनीबाट स्तरीय सेवा–सुविधा पाउँदै गएका छन्।’

त्यसैले सर्वोच्च अदालत र सरकारले समेत बाटो खुला गरिसकेको हुनाले नयाँ स्टक एक्सचेन्ज सञ्चालन ल्याउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको रौनियारले बताए। 

बजार जानकार विष्णु बस्याल नेपालको पुँजीबजारको विकास र विस्तारका लागि विशेषगरी सरकार नै गम्भीर हुन जरुरी रहेको बताउँछन्। ‘सरकारले अहिले भएकै नेपाल स्टक एक्सचेन्जलाई पुनर्संरचना गरेर अन्तर्राष्ट्रियस्तरको बनाउने हो भने नयाँ स्टक एक्सचेन्जको आवश्यकता पर्ने थिएन’, उनले भने, ‘तर, सरकारको पुँजीबजारलाई हेर्ने दृष्टि र कर्मचारीको बजारप्रतिको मानसिकता हेर्दा नेपाल स्टक एक्सचेन्जमा सुधार हुने स्थिति देखिँदैन।’

विकल्पका रुपमा बजारलाई गुणस्तरीय बनाउन र लगानीकर्तालाई अन्तर्राष्ट्रियस्तरको सेवा–सुविधा दिन पनि नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा ल्याउन आवश्यक बस्यालको भनाइ छ। 

अर्का बजार जानकार केशव कोइराला भने अहिले पुँजीबजारको विकासका लागि नयाँ स्टक एक्सचेन्ज ल्याउनुभन्दा पनि नयाँ–नयाँ प्रविधि र उपकरण ल्याउन आवश्यक रहेको बताउँछन्। ‘हाल भएकै नेपाल स्टक एक्सचेन्जलाई थप प्रविधिमैत्री बनाई लगानीकर्ताले चाहेअनुसारको सेवा–सुविधा थप्नुपर्छ’, उनले भने, ‘यदि सरकारले चलाउनै नसक्ने हो भने नेपाल स्टक एक्सचेन्जलाई निजीकरण गरेर भए पनि उच्च गुणस्तरको सेवा–सुविधा लगानीकर्तालाई उपलब्ध गराउन सकिन्छ।’

भएकै सरकारी संस्थानलाई सिध्याएर पैसाको चलखेल गरी नयाँ स्टक एक्सचेन्ज ल्याएर कालोबजारीलाई पोस्ने काम गर्न खोजिएको कोइरालाको भनाइ थियो। ‘सरकारी निकाय र तिनका प्रतिनिधि नै नेपाल स्टक एक्सचेन्ज सिध्याएर गाई मारेर गधा पोस्नतिर लागेको छ’, उनले भने।