काठमाण्डौ । पुँजीबजार सुधारका नाममा २ महिनाअघि मात्रै गठित ‘पुँजी बजार सुधार संघ’ नामक संगठनकै पदाधिकारीबीच आरोप–प्रत्यारोप चल्दा भाँडभैलो भएको छ। 

केही घन्टाअघि मात्रै उपाध्यक्ष बिनायक शिवाकोटीको समूहले गम्भीर नैतिक विचलनको आरोप लगाउँदै संघको अध्यक्षबाट डिल्लीश्वर कार्की (रोहन) बर्खास्त गरी नयाँ कमिटी गठन गरेको विज्ञप्ति सार्वजनिक गरेको थियो। त्यसको केही घन्टा बित्न नपाउँदै अध्यक्ष कार्कीको समूहले अर्को विज्ञप्ति जारी गर्दै संघको लेटरप्याड र छाप दुरुपयोग गरी अध्यक्ष कार्कीले बर्खास्त गरिएको भनी जारी गरिएको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

अध्यक्ष कार्कीद्वारा जारी विज्ञप्तिमा संघका उपाध्यक्ष विनायक शिवाकोटी, कोषाध्यक्ष सुशिलकुमार लुनिया, सहसचिव शिरिष आचार्यलगायत केही सदस्यहरुलाई पहिले नै संगठनले कारबाही गरी निलम्बन गरिसकेको जानकारी गराएको छ। ‘बर्खास्तीमा परिसकेका केही अराजक समूहले सडकबाट यस संस्थाका अध्यक्षलगायतका पदाधिकार्री बर्खास्त गरिएको भनी संस्थाको छाप र लेटरप्याड कीर्ते बनाई नैतिकहीन प्रचार गरेकोप्रति संघले निन्दा गर्छ’, विज्ञप्तिमा भनिएको छ। 

यसअघि संघका बहुसंख्यक पदाधिकारीहरुको बैठकले अध्यक्ष कार्कीमाथि गम्भीर नैतिक विचलनको आरोप लगाउँदै बर्खास्त गरिएको भन्दै विज्ञप्ति सार्वजनिक गरेको थियो। 

कार्कीमाथि संगठनको मूल्य मान्यता पालना नगरेको, व्यक्तिगत स्वार्थमा लागेको, गैरजिम्मेवार कार्य गरेकोलगायतका आरोप लागेको शिवाकोटी नेतृत्वको समूहले लगाएको थियो। 

संघका पदाधिकारीहरुबीच नै आरोप–प्रत्यारोप चलेसँगै पुँजीबजार सुधार संघ गठन भएको २ महिनामै फुटेको प्रस्ट भएको छ। 

यसअघि बिजशालासँगैको कुराकानीमा अध्यक्ष कार्कीले आफूमाथि मिथ्या आरोपसहित प्रहार गर्ने काम भएको र केही निश्चित पात्रहरुको निर्देशनमा गैरकानुनी ढंगले बर्खास्तीको हास्यास्पद निर्णय भएकोसमेत दाबी गरेका थिए।