काठमाण्डौ । महाभूकम्प गएको दुई वर्षपछि भत्केका घरहरुको पुननिर्माणले गति पाउने भएको छ । 

भूकम्पबाट भत्केका घरहरुको पुननिर्माणमा ढिलाई भएको भन्दै सरकारले सार्वजनिक डिजाइनमा मात्रै सीमित नभई जुनसुकै निर्माण सामाग्रीको प्रयोगबाट पनि घर पुननिर्माण गर्न पाउने बताएपछि पुननिर्माणले गति लिने देखिएको हो । 

सरकारले पहिलो चरणमा १७ र पछि थप ६ प्रकारका घरका डिजाइन सार्वजनिक गरेको थियो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुषालले सम्बन्धित इञ्जिनियरको परामर्शमा जुनसुकै निर्माण सामाग्रीको प्रयोग गरेर घर पुननिर्माण गरे पनि सरकारले दिने अनुदान रकम प्राप्त गर्न सकिने जनाए । ‘पुननिर्माण गरिएको घर भूकम्पप्रतिरोधी हुने गरी चाहिं बनाउनुपर्छ, उनले भने–‘कुन सामाग्रीको प्रयोग गर्यो भन्ने कुरा गौण हो ।’ 

स्थानीयस्तरमा पाइने काठ अथवा ट्रष्ट उठाइ त्यसमा ढुंगा, इँटामात्रै नभई बैकल्पिक निर्माण सामाग्री रुपमा रहेको इको प्यालनलगायतका हलुका निर्माण सामाग्रीलाई वालको रुपमा प्रयोग गरिए पनि राहत रकम पाइने प्राधिकरणले जनाएको छ । 

भुषालले प्राधिकरणले सार्वजनिक गरेको डिजाइन अनुसार बनेका घरले मात्रै अनुदान रकम पाउने नभई जुनसुकै निर्माण सामाग्रीको प्रयोग गरी बनेका भूकम्पप्रतिरोधी घरले राहत रकम पाउने स्पष्ट पारे । ग्रामीण क्षेत्रका जनतालाई भूकम्प प्रतिरोधी निर्माण प्रविधिका बारेमा जानकारी प्रदान गर्ने र नेपाल राष्ट्रिय भवन संहिता अनुसार आवासहरुको डिजाइन गर्नका लागि सहयोग पुर्याउने उद्देश्यका साथ डिजाइन बनाएको उनले स्पष्ट पारे । 

डिजाइन सूचीको माध्यमबाट ग्रामीण क्षेत्रका जनताले विभिन्न प्रकारका विकल्पहरु प्रस्तुत गरिएका आवासहरुको डिजाइन सम्बन्धी नमूनाहरु उपलब्ध गरी यसलाई उपयोगमा ल्याउन सक्नेछन् भन्ने आशाले प्राधिकरणले डिजाइन सार्वजनिक गरेको थियो । प्राधिकरणले प्रस्तुत गरिएका डिजाइनहरु सम्बन्धी जानकारीहरुबाट ग्रामीण क्षेत्रका बासिन्दाहरुलाई आफ्नो आवास निर्माण गर्ने कार्यमा महत्वपूर्ण सहयोग पुग्ने विश्वासले डिजाइन सार्वजनिक गरिएको सरकारी अधिकारीहरुको भनाई छ ।

भूकम्पप्रतिरोधी आवासहरुको पूनःनिर्माणका लागि डिजाइन पुस्तिकामा विभिन्न नमूना सहितका डिजाइनहरु प्रस्तुत गरिएका छन् । यसमा लागत, आकार, नक्सा र अवस्थितिका आधारमा विभिन्न विकल्पहरु समावेश गरिएका छन् । तर दोश्रो चरणमा बनाइएका थप ६ वटा डिजाइन त्यहाँं नहुँंदा सेवाग्राही अलमलमा छन् ।

प्रभावित क्षेत्रका परिवारहरुले यस डिजाइन सूचीमा प्रस्तुत गरिएको डिजाइनलाई नै छनौट गर्नुपर्ने बाध्यता नभएको हुँदा यस पुस्तिकामा समावेश गरिएकोबाहेक अन्य प्रकारको डिजाइन तयार गर्न सकिने त्यहाँं उल्लेख छ । तर, यस्तो डिजाइन तयार गर्दा राष्ट्रिय भवन आचार संहिताको पालना भने गरिएको हुनुपर्छ । 

पनुःनिर्माण कार्यक्रम दीर्घकालिनसम्म बलियो, सधुारिएको, भरपदो र नयाँ पविधिसहितिको रुपमा बनाएर हरेक समुदायलाई आउने प्राकृतिक प्रकोपबाट बच्न र जोगिनसक्ने क्षमताको विकास गराउने , पनुःनिर्माण कार्यक्रमले स्थानीय अर्थतन्त्रलाई अझ मजबुत बनाउने, जलबायु परिवर्तन, प्राकृतिक श्रोत साधनहरुको व्यवस्थापन तथा चुनौतीहरुको विश्लेषण गरी दिगो र वातावरणमैत्री पुननिर्माण प्रक्रियाहरु सुनिश्चित गर्ने सरकारी योजना छ । 

प्राधीकरणका उपसचिव एवं सूचना अधिकृत विजय रानाले पीडित परिवारले यथाशक्य घर पुननिर्माण गर्न सकून् भन्ने मुख्य सरोकारको बिषय रहेको बताए 

२०७२ वैशाख १२ र २९ गते गएको विनाशकारी भकूम्पले नौहजार भन्दा बढीले ज्यान गुमाएका थिए भने ६ लाख दुई हजार दुई सय ५७ घरहरु पूर्ण रुपमा र दुई लाख ८५ हजार ९९ घरहरु आंशिक रुपमा क्षतिग्रस्त भएका सरकारी तथ्यांक छ ।