काठमाण्डौ । नेपाल पुनर्बिमा कम्पनीले निश्कासन गरेको आइपीओ दुई दिनमै ओभरसब्स्क्राइब्ड भएको छ । 

मंगलबारदेखि खुलेको आइपीओमा लगानीकर्ताको औधी आकर्षण देखिएपछि अचाक्ली आवेदन परेको हो । 

सिडिएससीका अनुसार बुधबार साँझ ५ बजेसम्म नेपाल पुनर्बिमा कम्पनीको आइपीओमा १ लाख ८६ हजार ३५४ आवेदनबाट २ करोड ४३ लाख १६ हजार ८९० कित्ता खरीदका लागि माग भएको हो । 

कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १०० अंकित दरका १ करोड ६० लाख कित्ता आइपीओ निश्कासन गरेको हो । कुल निश्कासित साधारण सेयरमध्ये ७३ हजार ५०० कित्ता सेयर कर्मचारीलाई बाँडफाँड गरिएको र ८ लाख कित्ता सेयर (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको र बाँकी रहने १ करोड ५१ लाख २६ हजार ५०० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्कासन गरिएको हो ।

यसरी हेर्दा आइपीओमा दोश्रो दिनमै मागभन्दा ६०.७५ प्रतिशत बढी आवेदन परेको देखिएको छ । 

लगानीकर्ताले कम्तीमा १० कित्ता र अधिकतम १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। 

नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सकिनेछ। 

आइपीओमा चैत ७ गतेभित्र आवेदन दिन सकिनेछ । 

यो आईपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड २’ रेटिङ प्रदान गरेको छ। ग्रेड २ रेटिङले कम्पनीको वित्तीय अवस्था औसतभन्दा माथि रहेको जनाउँछ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ।

कम्पनीको चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ। आईपीओपछि कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुग्नेछ।