काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणका आधारमा लाभांश दिने भएको छ।

गत साउन ९ गते नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरणमा लाभांशको व्यवस्था नभएको जानकारी दिएको थियो। यो जानकारीले कम्पनीका सेयरधनीहरुसमक्ष अन्योलको अवस्था सिर्जना गरेको थियो भने सामाजिक सञ्जालमा सेयरधनीहरुले यो विषयमा निकै बहस र तर्क गरेका भेटिए। 

यता कम्पनीले आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणको अवस्थालाई हेरेर लाभांश दिने तयारी भइरहेको कम्पनीका सीईओ शंकरकुमार रायमाझीले जानकारी दिए। ५ वर्षसम्म कुनै बोनस सेयर, नगद लाभांश र हकप्रद सेयर जारी गर्न नपाउने व्यवस्था भएकाले ५ वर्षसम्म सेयरधनीलाई लाभांश वितरण नगरिएको दाबी गर्दै उनले अब गत आर्थिक वर्ष २०७६/७७ (गत असारमसान्तसम्म) को वित्तीय विवरणको अवस्थालाई मध्यनजर गर्दै सेयरधनीलाई आकर्षक लाभांश दिइने बताए। 

नियामक बीमा समितिले पुनर्बीमकले आफ्नो व्यवसाय गर्दा भएको मुनाफा कम्तीमा ५ वर्षसम्म मुनाफा वितरण नगरी जगेडा कोष (रिजर्भ) मा अनिवार्य रुपमा राख्नुपर्ने निर्देशन नै दिएको छ। सोही व्यवस्थाअनुसार २०७१ सालमा स्थापित नेपाल पुनर्बीमा कम्पनीले पछिल्ला ५ आर्थिक वर्ष २०७५/७६ सम्मको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगरेको हो।

यो कम्पनीले गत चैत ४ गतेदेखि ७ गतेसम्म १ अर्ब ६० करोड रुपैयाँ बढीको आईपीओ निष्कासन गरेको थियो। कम्पनीको १० करोड कित्ता सेयर गत जेठ २८ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको थियो। यो कम्पनीको सेयर दोस्रो बजारमा झन्डै १ महिनादेखि कारोबारमा आएको छ।