काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीको सेयर महङ्गोमा उठाउने लगानीकर्ता जोखिममा परेका छन् । बिनाआधार फुलाउँदै पुनर्बीमा कम्पनीको सेयर मूल्यलाई माथि उचालेर सर्वसाधारणको लगानी जोखिममा पार्ने खेल भएको छ ।
पछिल्ला केही घटनाक्रमले पनि पुनर्बीमाको सेयरमूल्यमा प्रभाव पार्ने निश्चित झै देखिएको छ । यसले लगानीकर्ताको चिन्ता अझै बढाइदिएको छ ।
बिनाकारण र आधार हल्लाको भरमा कुनै पनि कम्पनीको सेयरमा लगानी गर्दा कस्तोसम्म आपत आइलाग्नसक्छ भन्ने उदाहरण समेत यो कम्पनीमा भएको अन्धाधुन्ध लगानी बन्ने देखिन्छ ।
सोझा लगानीकर्ताहरुलाई विभिन्न हल्लामा फसाएर स्वार्थ समूहले यो कम्पनीको मूल्यमा निकै राम्रोसँग खेल्ने काम गरेको छ । हजारबाट लखपति र लखपतिबाट करोडपति बनाउने सेयर नै पुनर्बीमाको हो भन्दै स्वार्थ समूहले हल्लाखल्ला गरेकै भरमा बिना कारण र आधार यो कम्पनीको मूल्य उचालिएको देखिन्छ ।
अतः यो कम्पनीको सेयरलाई महङ्गो मूल्य तिरेर खरीद गर्ने लगानीकर्ताहरु फस्ने अवस्था कसरी सिर्जना भयो र कारण के–के हुन् ? बुँदागत रुपमा हेरौं:
हकप्रदको लालच
हाल पुनर्बीमा कम्पनीको चुक्तापूँजी १० अर्ब रुपैयाँ रहेको छ । तर, थोरै पूँजी भएको र हकप्रद सेयर नदिई सुखै छैन भन्दै बजारमा हौवा पिटाई यो कम्पनीको मूल्यलाई माथि उचाल्ने काम भयो । कोभिड १९ ले थिलथिलो अर्थतन्त्रलाई लयमा फर्काउने सकसमा रहेको सरकारले पुनर्बीमा कम्पनीको हकप्रदमा तत्काल रु. ४.४ अर्ब लगानी गर्ने संभावना नै नरहेको र यो हल्ला मात्र रहेको यसअघि नै अर्थमन्त्रालयले प्रष्ट पारिसकेको छ ।
उसो त सामान्य लगानीकर्ताहरु हकप्रद भन्नेबित्तिकै हुरुक्कै हुने र महँगो मूल्य तिर्न तत्पर हुने नेपालको सेयर बजारमा हकप्रदकै कारण रोडमा आएका लगानीकर्ताहरुको पनि कमी छैन । हकप्रद सेयर जारी गर्दा आम्दानीमा गिरावट आउँछ र प्रतिफलमा सोझो असर पर्छ भन्ने सामान्य हेक्का नराख्ने सामान्य लगानीकर्ताहरु बजारमा हकप्रद दिने कम्पनीमा लोभिन्छन् भने अर्काेतर्फ स्मार्ट लगानीकर्ताहरु हकप्रदको दायीत्व सोझासाझा लगानीकर्ताहरुलाई भिडाएर फुत्किने मौका खोजिरहेका हुन्छन् ।
यसरी पुनर्बीमा कम्पनीको आउँदै नआउने हकप्रदको हल्ला फैलाएर यो कम्पनीको सेयरलाई बलुन झै फुलाइयो र मूल्य २ हजार माथि पुग्छ भन्दै सर्वसाधारणलाई फसाउने काम भयो । जब हकप्रद नामको भ्रमको पर्दा च्यातियो, तब यो कम्पनीको मूल्य बिस्तारै घटिरहेको छ ।
नेपाल राष्ट्रबैंकको नीतिले अप्ठ्यारोमा
पछिल्लो समयमा बिनाआधार नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्यमा शतप्रतिशत वृद्धि भई आम लगानीकर्ताहरुले हौसिएर यो कम्पनीमा लगानी थुपारे । यसैकारण समेत राष्ट्रबैंकले पुनर्बीमालाई नजिरको रुपमा लिएर सेयर बजारमा प्रवेश भएका नयाँ र जोखिमयुक्त कम्पनीलाई तह लगाउने उद्देश्यले सेयर धितो कर्जामा नयाँ व्यवस्था गरिदियो । बिनाआधार र कम्पनीको लाभांशसमेत जस्टिफाई नहुने कम्पनीमाथि लगानीकर्ताहरु अन्धभक्त भई लगानी गरिरहेकाले समेत सेयर धितोकर्जामा राष्ट्र बैंकले सेयर कारोबार सुरु भएको २५० दिन पुगेका कम्पनीको सेयर धितो राखेर मात्र बैंकबाट कर्जा पाइने व्यवस्था गरिदियो । यसले पुनर्बीमा कम्पनीको सेयरमा प्रभाव पर्ने देखिन्छ । यो कम्पनीलाई उचालेर माथि पुर्याई बैंकबाट सेयर धितोकर्जा लिने र यही कम्पनीमा निकै ठूलो लगानी थुपारिएको राष्ट्रबैंकले गरेको एक अध्ययनबाट पत्ता लागेको थियो । पछिल्लो बढ्दो बजारमा पुनर्बीमा लगायत केही कम्पनीको सेयरमा यस्तो खेल भएपछि केन्द्रीय बैंकले सर्वसाधारणलाई डूब्नबाट जोगाउने गरी ल्याएको केही नयाँ व्यवस्थाको धेरैले स्वागत पनि गरिरहेका छन् ।
आकर्षक बोनस
सर्वसाधारण लगानीकर्ताहरुलाई पुनर्बीमा कम्पनी भन्ने बित्तिकै बीमा कम्पनीहरुको पनि पिता भन्ने भ्रम छ र यसले चाहिँ अन्य बीमा कम्पनीहरु भन्दा धेरै लाभांश प्रदान गर्छ र अहिले नदिए आगामी वर्ष दिन्छ भन्दै भ्रमको खेती गरिएको छ । पुनर्बीमाबापत पाउने रकमलाई कम्पनीले ब्याज आम्दानीका लागि मुद्धतीमा लगानी गरेको छ । बैंकहरुले हाल मुद्धतीमा रहेको ब्याजदरसमेत निरन्तर घटाइरहेको अवस्था छ । यसले मुद्धतीबाट हुने आम्दानी समेत प्रभावित हुने निश्चित देखिन्छ ।
वित्तीय अवस्था कमजोर
नेपाल पुनर्बीमा कम्पनीको गत आव २०७६/७७ को चौथो त्रैमास अनुसार कम्पनीको प्रतिसेयर आम्दानी(इपीएस)१२.३७ छ भने मूल्य आम्दानी अनुपात(पीई रेसियो) चाहिँ ४०.७४ रहेको छ ।
कोभिड बीमाले पुनर्बीमा ठहरै
कोभिड १९ बीमाको दाबीभुक्तानीले पछिल्लो समय कतिपय बीमा कम्पनीहरु पनि अप्ठ्यारोमा परेका छन् । पछिल्लो समय सरकारले यसमा सहयोग गरिरहेको छ । निर्जीवन बीमा कम्पनीहरुले पुलमार्फत कोभिड बीमाको दाबीभुक्तानी बढाइरहेका छन् ।
कम्पनीहरुले दायीत्व पूरा गरिसकेपछि पुनर्बीमा कम्पनीको भागमा १ अर्ब २२ करोड हाराहारीको दायीत्व सिर्जना भएको कम्पनीका सीइओ शंकरकुमार रायमाझी बताउँछन् । यसले समेत यो वर्ष पुनर्बीमा कम्पनीको आम्दानी तथा नाफामा नराम्रो असर गर्नेछ । जसका कारण कम्पनीले राम्रो लाभांश दिन्छ भन्ने आशामा यसको सेयर महंगोमा खरीद गरेका लगानीकर्ताहरु यसपटक हिस्स पर्ने अवस्था देखिन्छ । लाभांश अपेक्षा गरिएको भन्दा अत्यन्त कम हुने यी घटनाक्रमले पनि देखिन्छ ।
निश्कर्षमा हेर्दा विभिन्न हल्ला फैलाएर पुनर्बीमा कम्पनीको सेयरमूल्यलाई उचाल्ने काम भयो । लगानीकर्ताहरु पनि कम्पनीको वित्तीय अवस्थातर्फ ध्यान नै नदिई हल्लाको पछि लागेर छिटो कमाउने सपना देख्दै यो कम्पनीको सेयरमा पैसा खन्याए । हल्लाको वास्तविकताको पर्दाफास हुँदै गएपछि कतिपय लगानीकर्ताहरुमा राम्रो लाभांश आउने र साबिकको सेयर धितो कर्जा सम्बन्धी व्यवस्थाले पनि सपोर्ट नै गरेको छ भन्ने विश्वास थियो । तर, बाँकी रहेको यस्ता विश्वासहरुको धरातल समेत नराम्रोसँग कमजोर भइसकेपछि यो कम्पनीका लागि भविष्य उति सुखद देखिदैन ।
कुनै पनि कम्पनीमा लगानी गर्ने वा नगर्ने भन्ने निर्णय लगानीकर्ता स्वयम् हो । तर, लगानी गर्नुपूर्व यसको वित्तीय अवस्था, भइरहेका नीतिगत परिवर्तन, देशको अर्थतन्त्र र सम्बन्धित कम्पनीको विजिनेश फस्टाउनसक्ने आधार तथा संभावना लगायतका विषयमा ध्यान दिन आवश्यक छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago