काठमाण्डौ । अल्पकालीन लगानीकर्ताहरु बजार बढेको मौकामा नाफा सुरक्षित गर्नतर्फ लाग्दा तथा उकालो गति समाउन बजारले नवप्रवेशीलाई मौका दिँदा आजको नेप्से सूचकाङ्कमा थोरै गिरावट आएको छ ।

पछिल्लो समय माइक्रो र इन्स्योरेन्स सेक्टरमा आएको उछालबाट कमाएका सेयर कारोबारी आगामी दिनमा सेक्टर छनौटमा अन्यौलमा देखिएका छन् । यही बेला बजारलाई टेवा पुग्ने नयाँ ह्वीमको अभाव समेत देखिएको छ । जसले बजार कतै रुमल्लिएको हो कि भन्ने पनि देखिन्छ । 

पुराना लगानीकर्ताहरुको बजारमा पुनरागमन हुनु, नवप्रवेशी लगानीकर्ताहरुको ब्रोकर हाउसमा केवाइसी खाता खोल्ने बाक्लो लाम हुनु सेयर बजारको आगामी दिन झन् सुखद भइरहेका सामान्य संकेतहरु हुन् । 

जग्गा कारोबारमा मन्दी छाउँदा कित्ताकाट गर्न सरकारले लगाएको अंकुशले गर्दासमेत त्यहाँ जाने पैसा सेयर बजारमै पुनः आउन थालेको जानकारहरु बताउँछन् । बियरिस ट्रेण्डको अन्त भई बुलिस ट्रेण्डको सुरुवात भइसकेको लगानीकर्ताहरुको ठम्याइँलाई बजारले थप बलियो बनाउँदै गएको छ । 

बजारमा थप लगानीका लागि कारोबारीहरुले बैंकबाट सेयरधितो कर्जा र स्थिर सम्पत्तिको बिक्री रकम समेत हाल सेयर बजारमा आइरहेको ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरुको भनाइ छ । 

साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेप्से परिसूचक हिजोको तुलनामा ८.६७ अंकले घट्दा १३३३.६९ अंकमा सेयर कारोबार बन्द भयो भने राम्रा र बलिया कम्पनीको प्रतिनिधि जनाउने सेन्सेटिभ इण्डेक्स हिजोका तुलनामा १.८७ अंकको झिनो अंकले झर्दै २८४.०५ विन्दूमा सीमित भयो ।

आजको दिन नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये १७५ कम्पनीका २८ लाख १ हजार ३ कित्ता सेयर रु. १ अर्ब ४ करोड ९३ लाख ४५ हजार ४३६ रुपैयाँ रकमको कारोबार भयो ।

आज बिहीबार नेप्सेको १२ उपसमूहमध्ये १० उपसमूहमा रातो पोतिँदा बाँकी २ उपसमूह जीवन बीमा र उत्पादन तथा प्रशोधन समूहमा हरियाली छाए । 

सबैभन्दा धेरै कारोबार गर्ने कम्पनी
आज गुँरास लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । नेपाल धितोपत्र बोर्डले भर्खरै शतप्रतिशत हकप्रद निष्कासनको अनुमति दिएसँगै हकप्रदमा लगानीकर्ताहरु आकर्षित हुँदा यो कम्पनीको ४ करोड ५८ लाख रुपैयाँ बढीको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ८५ लाख, प्रभु बैंकको ३ करोड ३३ लाख, प्राइम लाइफ इन्स्योरेन्सको ३ करोड २९ लाख र एनआइसी एसिया बैंकको ३ करोड २१ लाख रुपैयाँ बढीको कारोबार गर्दै क्रमशः उत्कृष्ट कारोबार गर्दै टप फाइफभित्र पर्न सफल रहे । 

सबैभन्दा धेरै कमाउने कम्पनी
साताको कारोबारको अन्तिम दिन  बिहीबार ग्रीन डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्स कम्पनीमा पोजिटिभ सर्किट(१० प्रतिशत वृद्धि) लाग्दा यी दुई कम्पनीका सेयरधनीहरुले सबैभन्दा धेरै कमाए । 

सबैभन्दा धेरै गुमाउने कम्पनी
आज बिहीबार नेपाल फाइनान्स लिमिटेडका सेयरधनीहरुले सबैभन्दा धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा ९.५५ प्रतिशतको गिरावट आयो ।