काठमाण्डौ । पुराना स्टक ब्रोकर कम्पनीहरुले आफूहरुमाथि पछिल्लो समय लागेका आरोप भ्रामक र झुठा रहेको बताएका छन्। 

ब्रोकर लाइसेन्स वितरण प्रक्रियामा नयाँ ब्रोकर एसोसिएसनले राखेको धारणाप्रति प्रतिक्रिया जनाउँदै पुराना स्टक ब्रोकर कम्पनीहरुको छाता संगठन स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले एक प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुमाथि लागेका आरोपको खण्डन गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। ‘सिन्डिकेट र एकाधिकार बजार चाहने हाल सञ्चालनमा रहेका धितोपत्र दलाल व्यवसायीहरु’ भनी आफूहरुमाथि झुठा, आधारहीन, कपोकल्पित र अवास्तविक आरोप लगाइएको भन्दै एसोसिएसनले आफूहरु सदैव प्रतिस्पर्धात्मक वातावरणमा सेवा प्रदान गर्न तत्पर रहेको दाबी गरेको छ। 

यसैगरी तोकिएको समयभित्रै राफसाफ सेवालगायतका कार्य व्यावसायिक र दक्ष कर्मचारी राखी सम्पन्न गर्न नसकिरहेका कारण लगानीकर्ताहरुको अर्बौंको सम्पत्ति जोखिममा रहेको भनी झुठा र भ्रामक आरोप लगाइएको एसोसिएसनको भनाइ छ। ‘यी आरोप स्वयं हाम्रो गौरवान्वित इतिहासले खण्डन गर्दछ’, विज्ञप्तिमा भनिएको छ। 

धितोपत्र दलाल व्यवसायीहरुको गुमराहमा परी अर्थ समितिले निर्देशन जारी गरेको भन्ने अत्यन्तै संवेदनशील, असान्दर्भिक तथा स्तरहीन आरोपमा एसोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘यस्ता आधारहीन झुठा आरोपहरुबाट भ्रमिन नहुन सरोकारवाला सबैलाई अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

धितोपत्र दलाल व्यवसायीहरु सधैँ स्वस्थ प्रतिस्पर्धाका माध्यमबाट बजारको गरिमालाई उच्च बनाई राख्न तथा नियामक निकायहरुसँगको समन्वयमा नेपालको पुँजीबजारलाई बृहत्तर विकास र लगानीकर्ताहरुलाई उच्च स्तरको सेवामा सदैव समर्पित रहेको दाबी पनि पुराना ब्रोकरहरुले गरेका छन्। ‘प्रक्रियामा रहेका नयाँ साथीहरुसँग पनि आगामी दिनमा सहकार्य गर्दै अगाडि बढ्न स्टक ब्रोकर्स एसोसिएसन सदैव तत्पर रहेको छ’, विज्ञप्तिमा भनिएको छ।