काठमाण्डौ । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको बजेट खर्च ३२.१३ प्रतिशत बराबर देखिएको छ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार पुस मसान्तसम्ममा सरकारले ५ खर्ब ७६ अर्ब ३४ करोड ७६ बराबर खर्च गरेको छ। चालु आर्थिक वर्षका लागि सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाखबराबर विनियोजन गरेको थियो। बजेटको अर्धवार्षिक समीक्षा अवधिमा १४ प्रतिशत बराबरमात्रै पुँजीगत खर्च भएको छ।
चालु आर्थिक वर्षका लागि सरकारले पुँजीगत शीर्षकमा ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बराबर बजेट छुट्याएको थियो। पुस मसान्तसम्ममा पुँजीगत खर्च ५३ अर्ब ४५ करोड ५२ लाखबराबर खर्च भएको हो। चालु शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ बराबर विनियोजन भएकामा ३८.४६ प्रतिशत अर्थात ४ खर्ब ५५ अर्ब १२ करोड ७० लाख खर्च भएको पनि कार्यालयले जनाएको छ।
त्यस्तै वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख बराबर विनियोजन भएकामा २९.४४ प्रतिशत अर्थात् ६७ अर्ब ७६ करोड ५४ बराबर खर्च भएको छ।
यही अवधिमा सरकारको राजस्व संकलन वार्षिक लक्ष्यको ३३.९३ प्रतिशतबराबर देखिएको छ। चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ३ अर्ब १४ करोड ७० लाखबराबर राजस्व उठाउने लक्ष्य राखेको छ। तर, ६ महिना अवधिमा वार्षिक लक्ष्यको ३३.९३ प्रतिशत अर्थात ४ खर्ब ९४ अर्ब ८४ करोड ५८ लाख उठेको छ। जसमध्ये कर राजस्वतर्फ ४ खर्ब ५ अर्ब २६ करोड ९३ लाख र गैरकर राजस्वतर्फ ५३ अर्ब ७१ करोड ७५ लाखबराबर संकलन भएको छ।
चालु आर्थिक वर्षका लागि सरकारले ५५ अर्ब ४५ करोड ८३ लाखबराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको थियो। हालसम्म वार्षिक लक्ष्यको ८.६६ प्रतिशत अर्थात ४ अर्ब ८० करोड २० लाखबराबर वैदेशिक अनुदान सरकारले लिएको छ।
- RSS
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19