काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो विभिन्न प्रणालीमार्फत पुस मसान्तको अन्तिम दिनमा ८४ अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार फर्छ्यौट गरेको छ।

कम्पनीका अनुसार गत वर्षको सोही दिनमा भएको भुक्तानी कारोबारको तुलनामा उक्त कारोबार संख्याका आधारमा ६० प्रतिशत र रकमका आधारमा ७० प्रतिशतले वृद्धि भएको हो।

एनसीएचएलका प्रणालीहरुमध्ये एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस र आरपीएसमार्फत क्रमशः ४१ अर्ब,  १४ अर्ब र २९ अर्ब रुपैयाँबराबरको भुक्तानी कारोबार उक्त एक दिनमा फर्छ्यौट भएको हो।

विद्युतीय भुक्तानीको स्वीकार्यतासँगै आरपीएसअन्तर्गत कनेक्टआईपीएस (वेब, एप तथा गेटवे), कर्पोरेट पे, बैंक शाखाहरु, मोबाइल बैंकिङ, वालेट तथा एपीआईसँग जोडिएका विभिन्न च्यानलहरु मार्फत् रियल टाइम भुक्तानीको संख्यामा अधिकतम वृद्धि भएको पनि कम्पनीले बताएको छ।

त्यस्तै पुस मसान्तको अन्तिम दिनमा एनसीएचएल–आईपीएस र आरपीएसमार्फत १.६ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन तथा ६.८ अर्ब रुपैयाँ बराबरको सरकारी खर्चसम्बन्धी १ लाख २५ हजारभन्दा बढी भुक्तानी कारोबार भएका छन्।

सरकारी भुक्तानीसम्बन्धी कारोबारहरु कनेक्ट आईपीएस, कर्पोरेट पे, नेपाल पे, क्यूआर गेटवे, बैंक शाखाहरु, मोबाइल बैंकिङ तथा वालेटमार्फत गर्न सकिने व्यवस्था छ।