Crash Market
काठमाण्डौ । सुनियोजित रुपमा बजारमा त्रास फैलाएर बजार घटाउने खेलमा लागेका गिरोहहरुको प्रयासलाई नियन्त्रण गर्न नियमनकारी निकाय असफल बन्दा आम लगानीको अपेक्षा विपरीत आइतबार सेयर बजारमा एकैदिन ६४.५५ अंकले पहिरो गएको छ ।
यो साताको पहिलो कारोबार दिन नै बजारमा सर्किट ब्रेकर लगाउनुपर्ने अवस्था सिर्जना भएपछि लगानीकर्ता अत्तालिएर बजारमा आतंक सिर्जना भएको छ । बजार अझै तल झरेर लगानी डूूब्ने डरले लगानीकर्ताको मनोबलमा आइतबारको बजार परिणामले थप प्रहार गरेको छ ।
केही गिरोहहरुको योजनामा बजारलाई क्र्यास नै गराउने गम्भीर खेल भएपछि छाएको आतंक र त्रास बेलैमा नियन्त्रण नभए बजार १ हजारको स्तरमा झर्नसक्ने भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।
विश्लेषकहरुको भनाईमा ठूला(संस्थागत) लगानीकर्ता र म्युचुुअल फण्ड संचालकहरुले समेत बजारलाई यसरी डरलाग्दो ढंगले घटाउने खेलमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । नियामक धितोपत्र बोर्डले बजारमा भइरहेको अस्वभाविक चलखेल नियन्त्रणको प्रयास गरिरहेको समयमा समेत बजारमा डरलाग्दो अवस्था देखिनुलाई निकै रहस्यमय रुपमा लिइएको छ ।
अघिल्लो साता जस्तै आइतबार पनि कारोबारमा सर्किट ब्रेकर लगाउनुपर्यो । कारोबार सुरु भएको एक घण्टा नहुंदै तीन प्रतिशतले घटेर सर्किट लागेको सेयर बजार १५ मिनेटपछि खुलेको थियो । तर फेरि पनि बजारमा पहिरो जान रोकिएन र बजार बन्द हुँदासम्म नेप्से परिसूचक ४.२१ प्रतिशतले घट्न पुुगेको हो ।
९५ करोड ६० लाखको हाराहारीमा सेयर कारोबार हुँदा परिसूचक भने ६४.५५ अंकले घट्नुलाई निकै रहस्यमय ढंगले हेरिएको छ ।
आइतबार सबैभन्दा बढी बिमा समूहको सूचकमा पहिरो गएको छ । बिमा कम्पनीको चुक्तापूँजी वृद्धि सम्बन्धी नीति आउने हल्लाका कारण हौसिएर लगानीकर्ताले पैसा हालेर बुम भएको बजार तत्कालका लागि त्यस्तो नीति नआउने छाँट देखेपछि बिमाको सेयर बिक्रीको हतारोमा छन् । बिमाको पूँजीवृद्धिको नीति लामो समयको प्रतिक्षापछि पनि नआएका कारण यिनै कम्पनीले बुम गराएको बजार घट्न थालेको हो ।
आइतबार बिमाको सूचक मात्रै ५६२.९४ अर्थात ७.५१ प्रतिशतले घट्यो । यो निकै डरलाग्दो गिरावट हो ।
जलविद्युतको सूचक पनि ५.३४ प्रतिशतले घट्यो । यस्तै, वाणिज्य बैंक समूूह ५२.५४, होटल समूह १४६.०४, विकास बैंक ६५.७७, बित्त समूह २६.७ र अन्य समूह १९.०८ अंकले घटे ।
'क' वर्गका कम्पनीको कारोबारमा पहिरो गएका कारण सेन्सेटिभ इण्डेक्स १४.३२ अंकले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनी
बजारमा पहिरो गए पनि केही कम्पनीले भने राम्रै कारोबार गरे । वाणिज्य बैंक समूहले ४८ करोडको हाराहारीमा कारोबार गर्यो । ठूलो पहिरोको सामना गरेको बिमा समूहले २६ करोडको हाराहारीमा कारोबार गर्यो । विकास बैंक समूहको कारोबार भने ९ करोडमा खुम्चियो ।
कम्पनीगत हिसाबले सबैभन्दा बढी एभरेष्ट बैंकले ११ करोड १२ लाख बराबरको कारोबार गर्यो । शिखर इन्स्योरेन्सले ६ करोड १८ लाख, बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले ४ करोड ५४ लाखको कारोबार गरे । मिसन डेभलपमेन्ट बैंकको ४ करोड बराबरको प्रोमोटर सेयर पनि किनबेच भयो ।
त्यसैगरी, सिद्धार्थ बैंकले ३ करोड ९० लाख, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ४ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले २ करोड ८१ लाख, कुमारी बैंकले २ करोड ७७ लाख बराबरको कारोबार गरे ।
१२३ का लगानीकर्तामा रुवाबासी
बजार क्र्यास हुने डरलाग्दो बाटोमा गएर आतंक मच्चिएको अवस्थामा समेत ग्रीन डेभलपमेन्ट बैंक लिमीटेडले पनि पैसा छाप्यो । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । एनबी इन्स्योेरेन्सले ४ प्रतिशतको हाराहारीमा सम्पत्ति जोड्यो । ओरिएन्टल होटल लिमीटेड, रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र तिनाउ डेभलपमेन्ट बैंक लिमीटेडले क्रमशः १.८३, ०.४१, ०.२५ प्रतिशतले सेयर मूल्य बढाए । कुल कारोबार भएका १२८ कम्पनीमध्ये बाँकी रहेका १२३ कम्पनीका लगानीकर्ताले ठूलो घाटा व्यहोर्नुपर्यो ।
आइतबार ५ वटा कम्पनीले १० प्रतिशतले सम्पत्ति गुमाए भने अन्य १२ कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतकै हाराहारीमा घट्यो ।
हिमालयन जनरल इन्स्योरेन्स, साना किसान विकास बैंक, लक्ष्मी लघुवित्त बित्तीय संस्था, प्रिमियर इन्स्योरेन्स, नेपाल इन्स्योेरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले घट्यो । यस्तै, नेको इन्स्योेरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, किसान माइक्रो फाइनान्स बित्तीय संस्था, प्रभू इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स, डिप्रोक्स डेभलपमेन्ट बैंक लिमीटेड, छिमेक लघुवित्त विकास बैंक, अपी पावर, एनएलजी इन्स्योेरेन्स, सोल्टी होटल लिमीटेड, शिखर इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स र प्रूूडेन्सियल इन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतकै हाराहारीमा पहिरो गयो ।
९ कम्पनीको सेयर मूल्य ८ देखि ९ प्रतिशतको हाराहारीमा घट्यो । यस्तै, ७ कम्पनीको सेयर ७ देखि ८ प्रतिशतको बीचमा, ७ कम्पनीको सेयर ६ देखि ७ प्रतिशतको बीचमा, १२ कम्पनीको सेयर ५ देखि ६ प्रतिशतको बीचमा घट्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago