काठमाण्डौ । बजेटको पूर्वसन्ध्या र बजेटपछि बढेको बजारमा आइतबार भने दोहोरो अंकको करेक्सन भएको छ । 

यो दिन नेप्से परिसूचक १३.७९ अंकले करेक्सन भई १३०५.६८ को विन्दूमा सीमित बन्न पुग्यो भने कारोबार रकम पनि घटेर ७५ करोड ३२ लाखको हाराहारीमा सीमित बन्न पुग्यो । 

बजार बढेको मौका छोपेर सर्टटर्म कारोबारी हाबी हुँदा बजार घटेको विश्लेषकहरुले बताएका छन् । योसँगै कतिपय जानकारले भने पूँजीगत लाभकर ७.५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारिएको विषयलाई भ्रमपूर्ण ढंगले प्रचार गरी बजारबाट गलत ढंगले लाभ लिन खोज्दा बजार सुस्ताएको दाबी समेत गरेका छन् । सरकार जिम्मेवार निकायहरुले ५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर भनिसकेको अवस्थामा यो अन्तिम कर होइन भन्दै बजारमा करको आतंक फैलाउने समूह समेत सक्रिय देखिन्छ । यसले पनि लगानीकर्ताको मनोविज्ञानमा केही नकारात्मक असर पुर्याएको देखिन्छ । 

यो दिन राम्रा र बलिया कम्पनीको सेयरमा बिक्री चाप देखिँदा सेन्सेटिभ इण्डेक्स ३.०३ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.०२ अंकको गिरावट आयो । 

होटल र उत्पादन तथा प्रशोधन बाहेकका सबै समूहको उपसूचकमा रातो पोतियो । होटल समूह १२.६१ अंकले घटेको यो दिन उत्पादन तथा प्रशोधन समूहको सूचकमा १०.११ अंकको बढोत्तरी भयो । 

बैंकिङ समूह १३.७७ अंकले घटेको यो दिन विकास बैंक समूहमा १.२८ अंक, बित्त समूहमा २.४८ अंक, जीवन बिमा समूहमा ५९.३७ अंक, निर्जीवन बिमा समूहमा ४२.८३ अंक, माइक्रोफाइनान्स समूहमा १८.०८ अंक, जलविद्युत समूह २२.२८ अंक र अन्य समूह १२.४ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६६ कम्पनीका २० लाख ७८ हजार ९१ कित्ता सेयर ७५ करोड ३२ लाख ५७ हजार २ सय ९ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी प्रिमियर इन्स्योरेन्सले १३ करोड बढीको कारोबार गर्यो । 

शिवम सिमेन्टले ९ करोड ३७ लाख बढीको कारोबार गरेको यो दिन नेपाल बैंकले ४ करोड ४४ लाख, प्रभू बैंकले ४ करोड २५ लाख, अपर तामाकोशीले ३ करोड ४४ लाख, एनआइसी एशिया बैंकले २ करोड ३९ लाख, कैलाश विकास बैंकले २ करोड २१ लाख, मेगा बैंकले १ करोड ५३ लाख, एनटिसीले १ करोड ३५ लाख र कन्काई विकास बैंकले १ करोड ३५ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन कन्काई विकास बैंक र तारागाउँ रिजेन्सी होटलको सेयर मूल्यमा पोजिटिभ सर्किट लाग्यो । दुवैको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढ्यो । 

अघिल्लो कारोबार दि नझै यो दिन पनि धेरै गुमाउनेमा पाँचथर पावरका लगानीकर्ता नै भए । यो कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लाग्यो ।