security board of nepal
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले २०७४ आषाढ २८ गते २०७४/७५मा अपनाइने पुँजीबजारसम्बन्धी नीति तथा कार्यक्रम सम्बन्धमा सरोकारवाला पक्षहरुबीच छलफल कार्यक्रम सम्पन्न गरियो ।
कार्यक्रममा पूर्व बोर्डअध्यक्ष, नेपाल राष्ट्रबैंकका प्रतिनिधि, नेप्सेका प्रतिनिधि, सीडिएससीका प्रमुख कार्यकारी अधिकृत, मर्चेण्ट बैंकर एशोसियसन र ब्रोकर एशोसियसनका अध्यक्ष तथा प्रतिनिधिहरु, सेयर लगानीकर्ता संघकाअध्यक्ष तथा लगानीकर्ता, नेपाल बैंकर एशोसियसनका प्रतिनिधि, विश्वविद्यालयका वरिष्ठ प्राध्यापक, अर्थविद, नेप्सेका पूर्वअध्यक्ष तथा पुँजी बजारका विज्ञसहित अन्य सरोकारवाला पक्ष गरी करीव १५०जनाको सहभागिता थियो।
कार्यक्रममा सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले देशको कूल बजेट रकमको करिब १७ प्रतिशत बराबरको वार्षिक धितोपत्रकारोबार हुनुले धितोपत्र बजारको महत्व स्पष्ट देखिएको उल्लेख गर्दै धितोपत्रबजार सम्बद्ध निकायलाई सरकारले नियन्त्रित गरेजस्तो देखिएको र यस बजारलाई अनुत्पादक क्षेत्र भनी परिभाषित गरिएकोमा आपत्ति जनाउँदै यसमा परिवर्तन हुनुपर्ने कुरामा जोड दिए ।
साथै उनले लगानीकर्ताको लागत बढ्ने गरी कुनै काम गर्न नहुने, संस्थागत लगानीकर्ता भित्र्याउने कुराले मूर्तरुप लिनुपर्ने, सेयर किनबेचमा मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था गर्नुपर्ने, हकप्रद सेयर निष्काशनको अनुमतिपछि निश्चित अवधिभित्र सेयर जारी गर्नुपर्ने व्यवस्था गर्नुपर्ने कुरामा जोड दिए ।
मर्चेण्ट बैंकर एशोसियसनका अध्यक्ष प्रविणरमण पराजुलीले ओपन इन्ड म्युचुअल फण्ड, भेन्चर क्यापिटल, प्राइभेट इक्विटि फण्ड आदिको नियमन सम्बन्धी स्पष्ट व्यवस्था गर्नुपर्ने, सामूहिक लगानीकोषमा गरिने लगानीलाई कर छुटको दायरामा ल्याई प्रोत्साहनमूलक नीति अबलम्वन गर्नुपर्ने, अनलाइन कारोवारप्रणाली विकास गर्दा पूर्णरुपको इन्टरनेटमा आधारित कारोबार हुनुपर्ने, प्रत्यक्ष नियमनकारी निकाय नभएका वास्तविक क्षेत्रका कम्पनीको पारदर्शीता अभिबृद्धिमा विशेष जोडदिनुपर्ने सुझाव दिए ।
स्टक ब्रोकर एशोसियशनका अध्यक्ष प्रियराज रेग्मीले दोस्रो बजारको जोखिम न्यूनीकरण गर्न संस्थागत रुपमा सेटलमेन्ट ग्यारेण्टी फण्ड र अक्सन मार्केटको व्यवस्था गर्नुपर्ने, दलाल व्यवसायीमार्फत मार्जिन लेण्डिङ्गको व्यवस्था हुनुपर्ने बताए ।
कार्यक्रममा बोर्डका संस्थापक अध्यक्ष डम्बरप्रसाद ढुङ्गेलले पुँजीबजार सम्बद्ध सरोकारवाला निकायहरुले खेलेको भूमिकाबाट प्रभावित भएको बताउँदै सामूहिक लगानीकोषलाई लगानीकर्तामैत्री बनाउनुपर्ने तथा बोर्डले नागरिक लगानीकोषको प्रभावकारी नियमन गर्नुपर्ने सुुझाव दिए । बोर्डका पूर्व अध्यक्ष बाबुराम श्रेष्ठले बजारले विस्तारै परिपक्वता ग्रहण गरिरहेको बताए।
सो अवसरमा त्रिभुवन विश्वविद्यालयका प्रा.डा.राधेश्याम प्रधान, राजनबहादुर पौडेल तथा अर्थाशास्त्री डा. जीवनाथ धितालले विश्वविद्यालयस्तरीय पाठ्यक्रममा पुँजीबजार सम्बन्धी विषयवस्तुहरु विस्तृत रुपमा राख्नुपर्ने, बजार विकास गर्नुपर्ने, विश्वविद्यालयमा हुने पुँजीबजार सम्बन्धी अनुसन्धनात्मक कार्यलाई प्रोत्साहन गरी यस्ता अनुसन्धानलाई बढी व्यवहारिक बनाउनुपर्ने, अग्राधिकार सेयर तथा ऋणपत्र बजार विकास गर्न प्रोत्साहनमूलक नीति लिई कर छुटको व्यवस्था गर्नुपर्ने, लगानीकर्ता प्रशिक्षणमा विशेष जोड दिनुपर्ने, विद्यालयस्तरको पाठ्यक्रममा पर्सनल फाइनान्स सम्बन्धी पाठ्यक्रम समावेश गराउनुपर्ने, बैंक वित्तीय संस्थाबाहेक अन्यको सूचना प्रवाह कमजोर रहेकोले त्यसमा सुधार ल्याउनुपर्ने, आम लगानीकर्तालाई केन्द्रमा राखेर बोर्डले नियम बनाई लगानीकर्ताको लगानी सुरक्षित हुने वातावरण बनाउनुपर्ने तथा ब्रोकर सेवा देशव्यापी बनाई घरघरबाट नै धितोपत्रको कारोवार हुने व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
बैंकर्स एशोसियसनका प्रतिनिधिले ब्रोकर लाइसेन्स बैंकलाई पनि दिनुपर्ने व्यवस्था हुनुपर्नेमा जोड दिए ।
सहभागी अन्य विज्ञहरुले भित्री कारोवार रोक्नेतर्फ जोड दिनुपर्ने, प्राकृतिक स्रोतसाधन उपयोग गर्ने कम्पनीलाई सार्वजनिक निष्काशन अनिवार्य गर्नुपर्ने, वित्तीय सल्लाहकारको समेत नियमन व्यवस्था हुनुपर्ने, धितोपत्रबजार सम्बन्धी गतिविधिलाई पारदर्शी तथा सूचनाप्रविधियुक्त बनाउनुपर्ने, बजार सहभागीहरुको क्षमता अभिबृद्धिका लागि धितोपत्रबजार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्नुपर्ने, सिडिएससीले लगानीकर्ता पहिचानको व्यवस्था गर्नुपर्ने, बजारमा स्थिरता ल्याउन तथा विश्वसनीयता अभिबृद्धि गर्न धितोपत्र व्यापारी तथा बजार निर्माताको व्यवस्था गर्नुपर्ने, आर्थिक पत्रकारहरुलाई धितोपत्रबजार सम्बन्धी तालिमको व्यवस्था गर्नुपर्ने, प्राथमिक बजार देशव्यापी भएसँगै दोस्रोबजार सेवा समेत देशव्यापी हुनुपर्ने, नियमन निकायहरुबीच समन्वय हुनुपर्ने तथा संस्थागत लगानीकर्ता एवं गैरआवासीय नेपालीलाई बजारमाभित्र्याउनुपर्ने, बजारको बढ्दो आकार तथा बढ्दै गएको चुनौतीहरुको सन्दर्भमा बोर्डको नियमन क्षमता बढाउनमा ढिलाई गर्न नहुने जस्ता सुुझाव दिएका थिए ।
कार्यक्रममा बोर्ड अध्यक्ष डा.रेवतबहादुर कार्कीले पुँजीबजार विकासमा बोर्ड निरन्तर प्रयासरत रहेको र बोर्डको प्रयासलाई थपगतिशिलता दिन आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमाअघि सरोकारवालासँग छलफल कार्यक्रम आयोजना गरिएको बताए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago