काठमाण्डौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूँजीबजार र बीमा क्षेत्र सुधारका लागि सरकारको तर्फबाट गम्भीर  रुपले गृहकार्य भइरहेको बताएका छन्।

मंगलबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूँजीबजार र बीमा क्षेत्रको सुधारका लागि सरकार गम्भिर भएर काम गरिहेको बताए । उनले भने, ‘पूँजीबजार र बीमा क्षेत्रमा मात्रात्मक सुधार त भएको छ। तर अपेक्षित सुधार नहुँदा चिन्तित छौं। र, सुधारका लागि गम्भीर गृहकार्य गरिरहेका छौं ।’

उनले आफ्नो पालामा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी नभएको बताउँदै त्यसलाई परिमार्जन गर्ने समेत बताए।

प्रधानमन्त्री प्रचण्डले बीमाको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत र प्रक्रियागत सुधार, स्वास्थ्य बीमा बोर्डको क्षमता वृद्धि, बलियो अनुगमन तथा मूल्यांकन प्रणाली र सबैको उपचारका लागि अस्पताल लगायत संरचना सुधारमा तदारुकताका साथ लागिरहेको जानकारी दिए।

उनले बीमाको हालको रकमको दायरा बढाएर आधारभूतवाहेक सञ्चालनमा रहेका कार्यक्रमलाई एकीकृत स्वास्थ्य बीमामा आवद्ध गराउने समेत बताए।