काठमाण्डौ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पूँजी बजार ध्वस्त हुँदा पनि सरकारले कुनै चासो नदिएको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले लगानीकर्ताको अर्बौं लगानी डुब्दा पनि अर्थमन्त्री डा प्रकाशशरण महतले पूँजीबजारबारे चासो नदिएको भन्दै आपत्ति जनाए ।

सांसद ढकालले पूँजीबजारका लागि नियमक निकायको रुपमा रहेको धितोपत्र बोर्डले कुनै पनि काम गर्न नसकेको जिकिर समेत गरे । उनले मुलुकको अर्थतन्त्र सुधारका लागि आफूहरुले दिएको सुझावलाई अर्थ मन्त्रालयले पनि सुनुवाई नगरेको गुनासो समेत गरे ।

नेपाल राष्ट्र बैंकको गलत नीतिका कारण पूँजीबजारका लगानीकर्ताले महिनामै खर्बौं रकम गुमाइरहेको उनको भनाइ थियो ।

सांसद ढकालले मुलुकमा सामाजिक सद्भाव भडकाउने प्रयास भईरहेको उल्लेख गर्दै सरकारलाई शान्ति सुरक्षाबारे विशेष ध्यान दिन आग्रह गरे ।

यसअघि संसदमा विशेष समय लिंदै पूर्वप्रधानमन्त्री एवं नेकपा(एमाले) का अध्यक्ष  केपी ओलीले सेयर बजारमा १२ करोडको क्याप(सिमा) हटाउन सरकारको ध्यानाकर्षण गराएका थिए ।