-भक्तराज रसाइली
काठमाण्डौं । नेप्सेले पुष १७ गते मंगलबारदेखि बैंकिङ प्रणालीसँग एकिकृत गरी अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याउन लागेको छ । 

यसअघि नै एकीकृत भइसकेको डिम्याट र अब हुन गइरहेको बैंकिङ्ग प्रणालीको आबद्धताले अनलाइन कारोबार प्रणालीले मूर्त रुप पाउनेछ ।

नेप्सेले यसअघि नै सेयरधनीहरुको डिम्याट खाता अनलाइन प्रणालीसँग एकीकृत गरिसकेको सन्दर्भमा पर्सि पुस १७ गतेदेखि नेप्सेसँग सम्झौता भइसकेका नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक र ग्लोबल आइएमई बैंकमा लगानीकर्ताहरुले खाता खोली अनलाइन कारोबार प्रणालीमा आबद्धता जनाउन सक्ने नेप्सेका सीइओ चन्द्रसिंह साउदले बिजशालालाई बताए ।  

‘हाललाई ४ वटा बैंकको प्रणालीमा एकीकृत गरी कारोबार गर्न सकिन्छ।’ उनले भने–‘आजै  पुस १५ गते आइतबारदेखि बैंक प्रणालीको परीक्षण पनि गरिंदैछ ।’ 

थप बैंकहरुलाई अनलाइन कारोबार प्रणालीमा जोड्न नेपाल क्लियरिङ्ग हाउससँग छलफल भइसकेको र हाउसले १ महिनाभित्र आबद्धता जनाउने साउदको दाबी छ ।

यता, नेपाल क्लियरिङ हाउस लिमिटेडका सीइओ निलेशमान प्रधानका अनुसार कनेक्ट आइपीएसमा आबद्ध बैंक तथा वित्तीस संस्थाहरुलाई नेप्सेको नट्स(नेप्से अनलाइन ट्रेडिङ सिस्टम)मा एकीकृत गर्ने कुरा भएको बताए । हालसम्म हाउसका ३९ वटा बैंक तथा बित्तीय संस्था कनेक्ट आइपीएसमा र अरु १३ वटा थपिन गई ५२ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई कनेक्ट आइपीएसमा एकीकृत गरेर नेप्सेले दिएको स्रोतहरुलाई केलाएर लगभग २ वा ३ हप्ताभित्र कारोबार राफसाफका लागि एकीकृत गर्न सकिने प्रधानको दाबी छ । 

गत शुक्रबार नेप्सेले एक सूचना जारी गर्दै सम्पूर्ण लगानीकर्ताहरुलाई अनलाइन कारोबार प्रणालीमा आगामी पुस १७ गतेदेखि बैंकिङ्ग प्रणाली पनि एकीकृत गरिने भएकाले ४ वटा बैंकमार्फत सेयर कारोबार गर्न सकिने विषयमा अनुरोध समेत गरिसकेको छ । 

बहुप्रतिक्षित अनलाइन कारोबार प्रणालीको पूर्ण स्वचालित अनलाइन कारोबारमा हालसम्म ५ सय  हाराहारीले मात्र लगइन युजर नेम र पासवर्ड लिएको र करिब १ सय सेयर लगानीकर्ताहरुले मात्र अनलाइन ट्रेडिङ गरिरहेको नेप्से प्रवक्ता मुराहरि पराजुलीको भनाई छ ।

अनलाइन ट्रेडिङका विषयमा मोफसलमा पनि आगामी माघ, फागुन र चैतबाट अनलाइन ट्रेडिङ सेयर सचेतनाका लागि नेप्सेको टिम लिएर जाने तयारी भइरहेको प्रवक्ता मुराहरि पराजुलीले बताए ।