काठमाण्डौ। नर्भिक इन्टरनेसल हस्पिटलमा उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएसँगै पूर्ण स्वस्थ भई आज डिस्चार्ज भएका छन्। उनी अहिले राति ८ बजे अस्पतालबाट डिस्चार्ज भएका हुन्। 

कोरोना संक्रमण भई १९ दिनअघि नर्भिक अस्पतालमा पूर्वराजा शाह पूर्वरानी कोमल शाह र छोरी पूर्वअधिराजकुमारी प्रेरणासँगै नर्भिक अस्पतालमा भर्ना भएका थिए। अस्पतालमा उनलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो। लगातारको उपचारपछि उनको स्वास्थ्यमा निकै राम्रो सुधार भएको थियो। 

कोरोनाका लक्षणहरु हराएपछि पूर्वराजा शाहको ३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो। त्यसपछिको अवस्थामा पनि राम्रो सुधार भएपछि उनलाई आज डिस्चार्ज गरिएको हो। 

नर्भिकमै उपचाररत पूर्वरानी शाहको अवस्था भने सुधारोन्मुख छ। स्वास्थ्यमा सुधार भएसँगै उनलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको छ।

पूर्वरानी शाहलाई केही दिनअघि अवस्थामा सुधार भएपछि आईसीयूबाट वार्डमा सारिएको थियो। उनको उपचार प्लाज्मा थेरापी विधिबाट समेत गरिएको थियो। उनको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको छ। 

पूर्वअधिराजकुमारी प्रेरणा शाहको स्वाब रिपोर्ट नेगेटिभ आए पनि उनी आमासँग अस्पतालमै बसेकी छन्। 

पूर्वराजा, पूर्वरानी र पूर्वअधिराजकुमारीको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न थियो। नर्भिकको टिमलाई पूर्वराजपरिवारका निजी चिकित्सकले पनि सहयोग गरेका थिए।