काठमाण्डौ । नगदरहित कारोबारलाई विस्तार गर्दै देशभर सहज डिजिटल कारोबारको प्रोत्साहन गर्ने उद्देश्यअनुरुप एनआईसी एशिया बैंकले पूर्वी नेपालमा विगत दुई दशकदेखि सञ्चालनमा रहेको गोरखा डिपार्टमेन्ट स्टोरका ४ वटा शाखामा क्यूआर भुक्तानी सेवा उपलब्ध गराएको छ। 

क्यूआर भुक्तानी सेवा उपलब्ध गराउने विषयमा भएको समझदारीपत्रमा बैंकका तर्फबाट प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिस्टम प्रकाशचन्द्र अधिकारी र स्टोरका तर्फबाट महाप्रबन्धक बलराम आचार्यले हस्ताक्षर गरेका छन्। बैंकले सजिलो अकाउन्टसँगको सहकार्यमा डिपार्टमेन्ट स्टोरको बिलमै फोन पेको क्यूआर कोड आउने नवीनतम प्रणालीको सुरुआत गरेको छ। जसमार्फत कम्प्युटरको स्क्रिनमै क्यूआर कोड स्क्यान गरी उपभोक्ताले खरिद रकम भुक्तानी गर्न सक्नेछन्। 

फोन पेमा आबद्ध बैंकका ग्राहकले उक्त डिपार्टमेन्ट स्टोरका मोरङ जिल्लास्थित विराटचोक तथा पथरी, सुनसरी जिल्लाकोे इटहरी र झापा जिल्लाको दमक रहेका चार वटा शाखाबाट क्यूआर कोडबाट भुक्तानी सेवा प्रयोग गर्न सक्नेछन्। 

स्मार्टफोन प्रयोगकर्ताको संख्या उल्लेख्य वृद्धि भएसँगै क्यूआरबाट भुक्तानी गर्नेको संख्यामा समेत तीव्र रुपमा वृद्धि भइरहेको अवस्थाबीच विद्युतीय माध्यमबाट भरपर्दो कारोबार गरी नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकलाई आकर्षित गरी मुलुकलाई क्यासलेस इकोनोमी बनाउन सहयोग पुर्याउन यस योजनालाई अगाडि बढाइएको बैंकले जनाएको छ।

डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न हालसम्म बैंकले देशभर ४१ हजारभन्दा बढी क्यूआर मर्चेन्टहरू खडा गरी डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको छ। यसै क्रममा बैंकले आफ्ना मोबाइल बैंकिङ वा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्तालाई समेत देशभरका २ हजार ३०० वटाभन्दा बढी अस्पताल, होटेल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको छ।

बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालय, ४७१ एटीएम, ७५ वटा विस्तारित काउन्टर एवं ७८ वटा शाखारहित बैंकिङमार्फत आफ्ना २२ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।