काठमाण्डौ । पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। 

कोरोना संक्रमित भई गत शनिबारदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी शाहको अवस्था गम्भीर बनेको अस्पतालस्थित उच्च स्रोतले जानकारी दिएको छ। 

श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि आज बिहानबाट शाहलाई आईसीयूमा सारिएको छ। उपचारमा संलग्न शाहका पारिवारिक चिकित्सकका अनुसार उनलाई अहिले हाई फ्लो अक्सिजनको सपोर्ट दिइएको छ। ‘श्वासप्रश्वासको समस्या कम भएको छैन। अवस्था निकै जटिल देखिएको छ’, अस्पताल स्रोत भन्छ। 

अस्पतालमा भर्ना भएदेखि नै पूर्वरानी शाहको अवस्था सामान्य थिएन। अस्पतालको सिँढी उक्लिँदै गर्दा पहिलो दिन नै उनी लडेकी थिइन्। 

नर्भिक अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य छ। उनलाई पनि अक्सिजनको सपोर्टमा राखिएको छ। 

आमा–बाबुसँगै भर्ना भएकी छोरी प्रेरणाको अवस्था भने निकै सामान्य छ। उनलाई अक्सिजनको सपोर्ट दिन परेको छैन।