-अर्जुन तिमिल्सिना 
काठमाण्डौ। पछिल्लो समय सेयर बजारमा दैनिक गिरावट आउन थालेको छ ।

चाडपर्वपछि सम्हालिने आशा गरेको पूँजीबजार आज पनि माथि लाग्न सकेन । पछिल्लो समय गत साउन ४ गते  २ हजार २२७ को  विन्दुमा बन्द भएको बजार त्यसयता निरन्तर गिरावटमा छ । बजारमा यसरी लगातार गिरावट आएपछि मार्जिनकलको चर्चा पनि सुनिन्छ । हाल नेपाल राष्ट्र बैंकको तथ्यांकमा करिब ८० अर्ब रुपैयाँ सेयर कर्जा  छ ।

यसै विषयमा केन्द्रित रहेर आज हामीले पूँजीबजारमा लामो अनुभव सम्हालेका स्टक ब्रोकर एशोसिएशन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाटलाई बजारको पछिल्लो अवस्थाको बारेमा केही जिज्ञासा राखेका छौं ।

रानाभाट भन्छन्,  ‘बजार घट्न थालको २ वर्ष भयो ।  पहिले बजार ३ हजार २०० हुँदा छिटो- छिटो मार्जिनकल आएको थियो । पहिले हरेक त्रैमासमा मार्जिनकल आउँथ्यो । सेयर कर्जा हरेक वर्ष नवीकरण गर्नुपर्छ । बजार उच्च विन्दुको पहिलो वर्ष ४ वटै त्रैमासमा मार्जिनकल आए होला । किनकि हरेक त्रैमासमा बजार घट्यो । पछिल्लो समय भनेको बजार १ हजार ८०० देखि २ हजार २०० मा नै घुमेको छ । जसले यो उच्च मूल्यमा किनेका थिए, त्यो सेयरको ‘भ्यालुएसन’ नवीकरण गर्दा नै  भैसक्यो  । जसले पछिल्लो समय किने उनीहरुको ३० प्रतिशत मार्जिनभन्दा तल झरेको छैन ।’ 

उनी थप्छन्, ‘बैंकले कल नै गर्ने गरि एकआध घट्ना बाहेक मार्जिनकल ट्रिगर भएको छैन । समग्रमा बजार पछिल्लो पटक १५ प्रतिशत मात्रै घट्यो होला  । खासगरि बैंकहरुले कर्जा प्रवाह गर्ने भनेको बैंक तथा वित्तीय क्षेत्रका सेयरमा हो । इन्डेक्सको आधारमा भन्ने हो भने  ती वाणिज्य बैंकको सेयर मूल्य कुनै बेला नेप्से परिसूचक २९२ हुँदाभन्दा तल भैसकेको छ । त्यो बेला पनि स्ट्यान्डर्ड चार्टर्डको सेयर भाउ १ हजार २०० रुपियाँ माथि थियो । धैरै वाणिज्य बैंकको सेयर भाउ ४–५ सय रुपियाँ थियो । हाल धेरैले सेयर कर्जा बजार १ हजार ८०० देखि २ हजार २०० हुँदा नै नवीकरण गरे । त्यो रेटमा नवीकरण गर्नेहरुको अहिले नै मार्जिन कल ट्रिगर हुने सम्भाबना छैन ।’ 

उनले अर्को एक प्रसंगमा बजारमा माहोल नबन्दा बजार चलायमान हुन नसेको पनि बताए ।  उनका अनुसार नयाँ लगानीकर्ता बजार बढेपछि आउने हो । बजार यसरी घटेपछि आउने सम्भाबना रहेन । अहिले सेयर बजार मात्रै नभएर अन्य बाहिरी वातावरण पनि ठीक छैन । ठूलो उधोगधन्दा गर्नेहरु पनि पूँजीबजारमा आउन सक्ने अवस्था छैन ।

उनको विचारमा  टुरिजम क्षेत्र चलायमान भएको कारण त्यसले देशको अर्थतन्त्र र पूँजीबजारलाई सकारात्मक प्रभाव पार्दछ । रानाभाटको बिचारमा अब पूँजीबजार चलायमान हुन जहाँ जहाँबाट पैसा आउन  रोकिएका छन् ती स्रोत पूर्णरुपमा खुलेको अवस्थामा मात्रै बजार चलायमान हुन सक्छ ।

अर्को भनेको म्युचुअल फण्ड, स्टक डिलर र कम्पनीहरुको ठूलो पैसा निक्षेपमा गएर बसेको छ । बजार तल आउँदा उनीहरुले किन्न पनि कन्फिडेन्स ल्याउनु पर्छ । त्यसको लागि  नेपाल धितोपत्र बोर्डले यो अवस्थामा एफडीमा राख्ने परिपाटिलाई परिवर्तन गर्ने गरि नीतिगत व्यवस्था गर्नुपर्छ ।

किनकि बजारलाई चलायमान बनाउन उनीहरुको  पनि दायित्व छ । बास्तवमा स्टक डिलर बजार तल आँउदा र माथि जाँदा बजार सन्तुलन राख्ने काम गर्नै पर्छ । यो उनीहरुको काम हो । अहिले नागरिक स्टक डिलर र नविल स्टक डिलरको मात्रै करिब ३ अर्ब रुपैयाँ छ ।

त्यसैगरि, म्युचुअल फण्डको पनि पैसा छ । बजारमा आइसकेका अधिकांश  सबै ब्रोकरहरु २० करोड रुपैयाँभन्दा बढी पूँजी छ । यो अवस्थामा मार्जिन कर्जाका लागि जे जस्ता अप्ठयार छन्, ती नीति नियमलाई सरलीकृत गरेर मार्जिन कर्जा परिचालन सहज गर्न अबिलम्ब  नीतिगत व्यवस्था गर्नुपर्छ । 

अर्कोतर्फ, विकृतीको रुपमा कम्पनीहरु लिस्टिङग गर्ने, हकप्रद ल्याउने परिपटिलाई तत्काल अन्त्यगरि लिस्टिङ हुन आउने रेटिङ कम्पनीहरु माथि निश्पक्ष रुपमा रेटिङ गरि धितोपत्र बोर्डले गहिरो अध्यान गरेर मात्र आईपीओ जारी गर्न दिन्छ भन्ने आम लगानीकर्तालाई विश्वास दिलाउनु पर्छ । त्यसैगरि,प्रबर्द्धकहरुमा आफ्नो कम्पनी राम्रो आर्थिक  अवस्था भएमा मात्रा लिस्टिङ गर्न सक्छु भन्ने हुनु पर्छ ।

पूँजी र पब्लिक कम्पनी भएको  आधारमा मात्रै लिस्टिङ हुन सक्दैन भन्ने नीतिगत व्यवस्था हुनुपर्छ । त्यसले मात्रै दोस्रो बजार चलायमान हुन्छ । योसँगै हालको धितोपत्र बोर्डबाट आएको सप्लाईलाई रोकेर माग सिर्जना हुने काम भएको  खण्डमा बजारले तुरुन्तै गति लिन्छ ।