काठमाण्डौ । भारतले प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगाएसँगै नेपाली बजारमा पनि भाउ एकैदिन अचाक्ली बढेको छ। 

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार सुकेको प्याज (भारतीय)को प्रतिकिलो औसत मूल्य ६१ रुपैयाँ थियो। आज बढेर प्रतिकिलो औसत मूल्य ७८ रुपैयाँ पुगेको छ।

नेपाली बजारमा प्याजको भाउ एकैदिन करिब २८ प्रतिशतले बढेको हो। प्याजको खुद्रा भाउ भने प्रतिकिलो ९० रुपैयाँको हाराहारीमा पुगेको छ। भारतले प्याजमा निर्यात शुल्क लगाएसँगै भाउ बढ्न भन्दै व्यापारीले बजारमा कृत्रिम अभाव सिर्जना गर्दै भाउ बढाउन थालेका छन्। 

भारत सरकारले घरेलु बजारमा प्याजको अभाव हुन नदिन र भाउ नियन्त्रण गर्न निर्यात शुल्क लगाउने निर्णय गरेको हो। भारतको वित्त मन्त्रालयले आउँदो डिसेम्बर ३१ सम्म प्याजमा ४० प्रतिशत निर्यात शुल्क लाग्ने जानकारी गराएको छ। 

नेपाली बजारमा खपत हुनेमध्ये ९० प्रतिशतभन्दा बढी प्याज भारतबाट आयात हुन्छ। भारत सरकारले आन्तरिक बजारमा प्याजको भाउ अनियन्त्रित ढंगले ४० प्रतिशत निर्यात शुल्क लगाउन निर्णयले नेपालमा भित्रिने भारतीय प्याजको भाउ पनि बढेर आउने निश्चित छ। 

यद्यपि व्यापारले भारतको निर्णयअघि नै भित्रिएको प्याज लुकाएर कृत्रिम अभाव सिर्जना गरेका छन्। जसका कारण प्याजको भाउ एकैदिन अचाक्ली बढेको हो। 

यसरी व्यापारीले कालोबजारी सुरु गर्दा पनि सरकारको ध्यान भने खासै गएको छैन। भारतले आफ्ना जनतालाई राहात दिन तत्कालै उचित कदम चाल्ने भए पनि नेपालमा जनता महँगीको चपेटमा पर्दा पनि सरकारले ध्यान दिने गरेको पाइँदैन। 

सरकारको यस्तै रवैयाका कारण प्याजको कालोबजारी मौलाउने निश्चित देखिन्छ।