काठमाण्डौ । भारतले प्याजको निर्यातमा फेरि प्रतिबन्ध लगाएको छ ।

तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको भारतले अहिले निर्यातमा पूर्ण रोक लगाएको हो

भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले सन् २०२४ को मार्चसम्मका लागि प्याजको निर्यातमा रोक लगाएको बताएको छ ।

अन्य मुलुकका सरकारको आग्रहबमोजिम सरकारले अनुमति दिएमा भने प्याज निर्यात हुन सक्ने पनि महानिर्देशनलायको सूचनामा उल्लेख छ ।

भारत सरकारले प्याजको मूल्य अत्यधिक बढेको भन्दै निर्यात बन्द गरेको हो । निर्यात बन्द गरेपछि बजारमा प्याज प्रशस्त पाइने र मूल्य पनि कम हुने भारत सरकारको विश्लेषण छ ।

यसअघि सन् २०१९ मा पनि भारत सरकारले प्याजको निर्यात बन्द गरेको थियो ।

 

नेपाली बजारमा केहि समययता प्याजको अभाव छ । आलु र प्याजमा मूल्य अभिबृद्धि कर(भ्याट) को विवादले नेपाली होलसेल व्यवसायीले आयात र बिक्री बन्द गर्दा सर्वसाधारण उपभोक्ता भने मारमा परेका छन् ।

सरकारले बजेटमार्फत आयातित प्याज र आलुमा मात्रै भ्याट लगाउने भने पनि कार्यान्वयनका क्रममा स्वदेशी उत्पादनमा समेत भ्याट लगाएपछि व्यवसायीको हडताल कायमै छ ।