काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको पुँजीबजारप्रति पछिल्लो अभिव्यक्तिले लगातार सेयर बजारमा पहिरो गइरहेको छ। लगातार घटाइपछि सम्हालिन लागेको बजारमा प्रचण्डको पुँजीबजारप्रतिको सोचाइ र विचारले पछिल्लो २ दिनमै झन्डै १७० अंकले ओरालो लागिसकेको छ।
सरकार साझेदार कम्युनिस्ट पार्टीका अध्यक्षको टिप्पणी र देशको आर्थिक गतिविधि प्रत्यक्ष रुपमा हेर्ने अर्थ मन्त्रालयमा सोही पार्टीका नेता जनार्दन शर्मा मन्त्री हुनुले पछिल्लो समय सेयर बजार त्यति सकारात्मक बन्न नसकेको बजार जानकारहरु बताउँछन्। ‘यसअघिको इतिहासले पनि सेयर बजार माओवादी पार्टी सत्ता रहँदा उभो लाग्न नसकेको देख्न सकिन्छ’, एक बजार जानकारले भने, ‘अहिले पनि त्यही परिस्थिति हो, जसका कारण लगानीकर्ताहरु आत्तिएका छन्, डराइरहेका छन्।’
बजार लगानीकर्ताको मनोबलले चल्ने हुँदा अहिले लगानीकर्ताकै मनोबल गिर्दा बजारले गति लिन नसकेको जानकारहरु बताउँछन्।
लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला पनि बजार ओरालो लाग्नुको मुख्य कारण नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अभिव्यक्ति र अर्थ मन्त्रालयमा सोही पार्टीका नेता मन्त्री रहनु नै रहेको बताउँछन्। ‘सत्ता साझेदार माओवादी केन्द्र रहेको यो सरकारप्रति लगानीकर्ताको अविश्वास बढ्दै गएको छ’, उनले भने।
बास्तोलाले लगानीकर्ताहरु आत्तिसकेकोले बेलै पुँजीबजार सुधारका लागि सरकारले पहल गर्नुपर्ने बताउँछन्। ‘लगानीकर्ताका जायज मागहरु सम्बोधन हुनुपर्छ’, उनले भने, ‘सरकारले तत्काल लगानीकर्ताहरु वार्ता गर्न आवश्यक छ।’
मौद्रिक नीतिमार्फत ल्याइएको पछिल्लो ४–१२ को व्यवस्था हटाउनुपर्ने बास्तोलाको भनाइ छ। ‘यसअघिको ५८ बुँदेमा पूरा हुन बाँकी रहेका कामहरु तत्काल सम्बोधन हुनुपर्छ’, उनले भने, ‘धितोपत्र बोर्ड र नेप्सेमा तत्काल प्रमुख नियुक्त हुनुपर्छ।’
अहिले लगानीकर्ताहरुले उठाएका माग कार्यान्वयन नभए सडक संघर्षमा उत्रिनुको विकल्प नरहेको बास्तोला बताउँछन्।
बजार जानकार सरोज भट्टराईको विचार पनि बास्तोलासँग मिल्दोजुल्दो छ। उनी पनि पछिल्लो समय बजारमा आइरहेको भारी गिरावटको मुख्य कारण अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई नै मान्छन्।
‘निरन्तर बजार घट्दा लगानीकर्तामा डरको मनोविज्ञान देखिएको छ’, भट्टराईले भने, ‘कतिपय लगानीकर्ता त बचेको सम्पत्ति जोगाउन घाटामै सेयर बेच्न थालेका छन्।’
बजार नियोजित रुपमा कालोधनलाई सेतो धन बनाउने प्रयत्न भइरहेको हुन सक्ने पनि भट्टराईको अनुमान छ। ‘पुँजीबजारजस्तो संवेदनशील क्षेत्रका विषयमा यसरी खुलेआम नकारात्मक अभिव्यक्ति दिनु गलत हो’, उनले भने।
अर्का बजार जानकार हरि ढकाल प्रचण्डकै अभिव्यक्तिका कारण बजारमा त्रासको वातावरण सिर्जना भएको बताउँछन्। ‘सोही कारण बजारमा ठूलो अंकको गिरावट आइरहेको छ’, उनले भने।
प्रचण्डले आफ्नो अभिव्यक्ति फिर्ता नलिए र नियामकले नीतिगत व्यवस्थामा परिमार्जन नगरे लगानीकर्ताहरु देशव्यापी आन्दोलन उत्रिने ढकालको चेतावनी छ। ‘हामी अहिले छलफलमा छौँ, नेता र नियामक नसच्चिए आन्दोलन हुन्छ’, उनले भने।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago