काठमाण्डौ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र अन्य साना दलको सहयोगमा प्रधानमन्त्री बन्नेमा निश्चित देखिएका प्रचण्डको आगमनमा पूँजीबजारले भने रातो झण्डा देखाएको छ । 

सत्ता परिवर्तनको खेलले निराश लगानीकर्ताहरुले पर्ख र हेरको रणनीति अँगाल्दा बुधबार पूँजीबजारका सबै सूचकमा रातो पोतिएको हो । 

नेप्से परिसूचक १२.७५ अंकले करेक्सन भई १८१३.७२ अंकमा झरेको छ भने मंगलबारको तुलनामा बुधबार १५ करोड रुपैयाँ कम कारोबार भएको छ । 

सबैभन्दा धेरै उत्पादनमूलक समूहको सूचक ४१.४ अंकले तल झर्यो । बिमा ३३.८२ अंकले ओराला लाग्यो भने वाणिज्य बैंक, विकास बैंक र बित्त समूह क्रमशः १३.४८, ११.०१ र १०.५५ अंकले ओर्लियो । 

होटल समूह १०.८९ अंकले घट्यो भने जलविद्युत समूह र अन्य समूहमा क्रमशः १७.५८ र ३.७६ अंकको गिरावट देखियो । 
बुधबार १ सय ३७ कम्पनीका कुल २४ लाख ८३ हजार ९ सय ४६ कित्ता सेयर १ अर्ब २७ करोड ९२ लाखमा किनबेच भयो । मंगलबार १ अर्ब ४२ करोड बढीको सेयर कारोबार भएको थियो । 

नेप्से परिसूचक राताम्य हुँदा पनि बुधबार बजारमा वाणिज्य बैंकहरुकै दबदबा कायम रह्यो । सबैभन्दा धेरै नेपाल बंगलादेश बैंकको ९ करोड २२ लाखको सेयर किनबेच भयो । यस्तै, सिद्धार्थ बैंकले ७ करोड २१ लाख, नेपाल बैंक लिमीटेडले ६ करोड ९१ लाखको कारोबार गर्यो । नेशनल लाइफ इन्स्योरेन्सको ५ करोड ३८ लाख, प्राइम कमर्सियल बैंकको ४ करोड ८१ लाख, शिखर इन्स्योरेन्सको ४ करोड ५९ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको ४ करोड ३७ लाख, एनएमबी बैंकको ४ करोड, प्रिमियर इन्स्योरेन्सको ३ करोड ५४ लाख र एस डेभलपमेन्ट बैंकको ३ करोड ३७ लाख बराबरको सेयर किनबेच भयो । 

बुधबार एनएमबी माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै बढ्यो । यो कम्पनीको सेयर मूल्य ५.१४ प्रतिशतले बढेको हो । यस्तै, रिलायवल माइक्रो फाइनान्स बित्तीय संस्था, एस डेभलपमेन्ट बैंक, स्वरोजगार लघुवित्त विकास बैंक, कन्काई विकास बैंकका लगानीकर्ताले सेयर मूल्य ३ प्रतिशतको हाराहारीमा बढाए । 

बुधबार ललितपुर फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्यमा ७ प्रतिशत भन्दा बढीको गिरावट देखियो । यस्तै बोटलर्स नेपाल(तराई) लिमीटेड, किसान माइक्रो फाइनान्स बित्तीय संस्था, कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि सेयर मूल्यमा करिब ७ प्रतिशतकै हाराहारीमा क्षति व्यहोर्नुपर्यो ।