काठमाण्डौ । एक बिमा कम्पनीको सेयर सस्तोमै पाउने अवसर तपाईसामु आएको छ । तपाईले बुद्धि पुर्याउनुभयो भने र भाग्यले साथ दियो भने नेको इन्स्योरेन्सको बिक्री नभएका सेयर सस्तोमै खरीद गर्ने अवसर पाउनसक्नुहुन्छ ।

यो बिमा कम्पनीले बिक्री नभएका ८६ हजार ७ सय २९ कित्ता साधारण र ६ हजार १ सय ६३ संस्थापक सेयर लिलामीमा राखेको छ ।

नेको इन्स्योरेन्सले २०७३ फागुन ३ गतेदेखि १ बराबर १ को अनुपातमा हकप्रद निश्कासन गरेको थियो । तर यो कम्पनीका सबै सेयरधनीले हकप्रद किनेनन् र बिक्री नभएका सेयर लिलामीमा राखिएको हो ।

लिलामीमा आवेदन दिने समय आगामी जेठ ११ गतेसम्म तोकिएको छ । लिलामीको नतिजा जेठ १२ गते सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

लिलामीको सहभागी हुन चाहनेले न्यूनतम एकसय कित्ताका लागि आवेदन दिनुपर्नेछ । न्यूनतम प्रतिकित्ता १ सय रुपैयाँ मूल्य राख्नैपर्ने हुन्छ ।

यो कम्पनीको लिलामी प्रक्रियाको काम गर्न एनएमबी क्यापिटल लिमीटेड बिक्री प्रबन्धक तोकिएको छ ।

काठमाण्डौको नक्सालस्थित एनएमबी क्यापिटलको कार्यालयमा गएर इच्छुक सेयरधनीले जेठ ११ गते ३ बजेभित्र लिलामीमा आफ्नो प्रस्ताव पेश गर्नुपर्नेछ ।

सतप्रतिशत हकप्रदको पूँजीकरणपछि नेको इन्स्योरेन्सको चुक्तापुँजी ६४ करोड ८० लाख रुपैयाँको उचाईमा पुग्नेछ । यो कम्पनीको बुधबारको अन्तिम बिक्री मूल्य प्रतिकित्ता १ हजार १ सय ७५ रुपैयाँ थियो ।