काठमाण्डौ । मुद्रा तथा पूँजीबजारको समस्या अध्ययन गर्न गठित उच्चस्तरीय अध्ययन समितिले आफ्नो प्रतिवेदन अर्थमन्त्रीलाई बुझाएको छ ।
अर्थमन्त्रालयमा गएर अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन अर्थमन्त्रीलाई बुझाएको हो ।
अध्ययन समितिका संयोजक शिवराज श्रेष्ठले प्रतिवेदन अर्थमन्त्रीलाई बुझाएका समितिकी एक सदस्य राधा पोखरेलले जानकारी दिइन् ।
उनका अनुसार लगानीकर्ताहरुले उठाएका मागमध्ये करिब ९५ प्रतिशत माग प्रतिवेदनमा समेटिएको छ । 'हामीले प्रतिवेदनमा समावेश गरेका मागहरुको सही सम्बोधन हुने हो भने पूँजीबजारको कायापलट हुन्छ ।'-उनले भनिन् ।
अर्थमन्त्रीले मुद्रा तथा पूँजीबजारको समस्याको अध्ययन गर्न भन्दै डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा अघिल्लो साता अध्ययन समिति बनाएका थिए । समितिमा नेपाल बैंकर्स संघ, धितोपत्र बोर्ड, लगानीकर्ता संघसंगठनका प्रतिनिधि सहभागी थिए ।
सबै क्षेत्रबाट आएका सुझावहरुलाई समेटेर समस्या समाधानको उपायसहितको प्रतिवेदन अर्थमन्त्रीलाई बुझाइएको बताइएको छ ।
प्रतिवेदनमा सेयर धितो कर्जाको रिस्क वेट घटाउने, सेयर धितो कर्जाको सीमा बढाउने, मार्जिन लेण्डिंग सम्बन्धी कार्यविधि तयारी गरी कार्यान्वयनमा ल्याउने, अनलाइन कारोबारलाई पूर्ण कार्यान्वयनमा ल्याउने, एफपीओ निश्कासन तथा हकप्रदबाट पूँजी वृद्धि गर्ने परिपाटी निरुत्साहित गर्ने, व्यक्तिगत कर्जाको सीमा बढाउने, संस्थागत लगानीकर्तालाई कर छुट, डिवेञ्चर र बण्ड मार्केट बिस्तार, न्यून क्रेडिट रेटिङका कम्पनीलाई आइपीओ निश्कासनमा रोक लगायतका विषय समेटिएको छ ।
‘ब्याजदरलाई बजार अभ्यास अनुसार विभिन्न टूल्स प्रयोग गरेर ब्याजदर नियन्त्रणभित्र राख्ने विषय पनि प्रतिवेदनमा समेटिएको छ । एउटा मापदण्डसहित ब्याजदरलाई निश्चित विन्दूमा राख्ने भनिएको छ ।’–स्रोतले भन्यो ।
अध्ययन समितिको प्रतिवेदन बुझेलगत्तै अर्थमन्त्री खतिवडाको संयोजनमा उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठक सुरु भएको छ । बैठकमा धितोपत्र बोर्डका अध्यक्ष, गभर्नर, कम्पनी रजिष्टार कार्यालयका प्रतिनिधि, विषयगत मन्त्रालयका सचिव लगायत सहभागी छन् ।
प्रतिवेदन बुझे लगत्तै उच्चस्तरीय समितिको बैठक बसिरहेको हुनाले सम्बद्ध निकायले प्रतिवेदनमा समेटिएका विषय आजभोलिसम्म नै सम्बोधन गर्ने स्रोत बताउँछ । ‘केही लगानीकर्ताहरु अनसन पनि बसिरहेका छन्, तसर्थ उनीहरुको माग समेत समेटिएको प्रतिवेदनको कार्यान्वयनको सुरुवात आजभोलिदेखि नै हुनसक्छ ।’–स्रोतले भन्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19