काठमाण्डौ । सेयर कारोबारमा सहजीकरणको भूमिका खेलिरहेका धितोपत्र दलाल व्यवसायीहरुले अब अनिवार्य रुपमा आफ्नो वेबसाइट विकास गर्नुपर्ने भएको छ । 

नेप्सेले एक निर्देशन जारी गर्दै सबै धितोपत्र दलाल व्यवसायीहरुलाई आफ्नै वेबसाइट तयार गर्न र वेबसाइट तयार गरिसकेका दलाल व्यवसायीलाई समेत सम्बन्धमा नेप्सेलाई जानकारी गराउन भनेको हो । 

नेप्सेले सर्वसाधारण लगानीकर्ताहरुलाई ब्रोकर कम्पनीहरुबाट प्रदान गरिने सेवासुविधा सम्मको पहुँचलाई अझ सहज बनाउन तथा प्रचलित धितोपत्रको कानूनसंग तादाम्यता हुने गरी धितोपत्र सम्बन्धी सूचना तथा जानकारीहरु प्रवाह गर्नका लागि समेत प्रत्येक ब्रोकरको आफ्नै वेबसाइट हुनुपर्ने प्रष्ट पारेको हो । 

वेबसाइट नखोलेका सदस्य दलाल तथा दलाल कम्पनीहरुले खोल्नुपर्ने र यसअघि नै वेबसाइट सञ्चालन गरिरहेका कम्पनीहरुले आफ्नो कार्यालयको वेबसाइटको २०७६ जेठ मसान्तभित्र नेप्सेलाई जानकारी गराउनुपर्ने निर्देशनमा उल्लेख छ ।