जनकपुर । प्रदेश नम्बर २ को सरकारले प्रदेश सांसदहरुले खर्च गर्न पाउने गरी बजेट विनियोजन गरेको छ । 

आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा निर्वाचित सांसदलाई ३ र समानुपातिकलाई एक करोड रुपैयाँ दिने घोषणा गरिएको छ । 

संघीय सरकारका सांसदहरुले पाउने गरेका सांसद विकास कोषको सिको गर्दै २ नम्बर प्रदेशमा यस्तो कार्यक्रम समेटिएको हो । 

सांसदहरुले यस्तो बजेट आफ्नै इच्छाले खर्च गर्न पाउनेछन् । 

प्रदेशका निर्वाचित सांसदले करोडका दरले पाउनेछन् । यसमध्ये रु १ करोड आफ्नै इच्छाले र बाँकी २ करोड संसदीय विकास कार्यक्रम अन्तर्गत पाउने छन् ।

प्रदेश २ मा ६४ प्रत्यक्ष निर्वाचित र ४१ समानुपातिक गरी १०७ जना सांसद छन् ।

प्रदेश २ सरकारले आगामी  आर्थिक वर्ष ०७६/७७ का लागि ३८ अर्ब ७२ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री विजयकुमार यादवले आइतबार प्रदेश सभामा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट पेश गरेका हुन् ।

चालूतर्फ रु १९ अर्ब ११ करोड, ९७ लाख ३८ हजार अर्थात ४९.८१ प्रतिशत र पूँजीगततर्फ रु १९ अर्ब २६ करोड, ५४ लाख ६४ हजार अर्थात ५०.१९ प्रतिशत विनियोजन गरिएको छ ।

बजेटको स्रोतका रुपमा आन्तरिक राजस्वबाट रु १३ अर्ब, ५४ करोड, ३१ लाख, ६९ हजार, नेपाल सरकारबाट प्राप्त बिभिन्न अनुदानबाट रु १६ अर्ब १७ करोड, ७४ लाख र चालू आ।ब। बाट नगद मौज्दात हुने रु ७ अर्ब ७० करोड, ७२ लाख, ९२ हजार प्राप्त हुने र रु १ अर्ब ३० करोड आन्तरिक ऋण लिइने छ ।