काठमाण्डौ । प्रदेश नं. २ का तीन जिल्लामा बिहीबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालभर संक्रमितको संख्या २५० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश २ का सर्लाहीमा १ जना तथा धनुषा र महोत्तरीमा २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिअनुसार सर्लाहीको धन्कौलीका ४५ वर्षीय एक पुरुष, धनुषाको जनकपुरका ४० वर्षीय पुरुष र मिथिलाकी २० वर्षीया तथा महोत्तरीको जलेश्वरका १६ वर्षीय र बलवाका ३५ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ। 

यी पाँचैजनाको काठमाण्डौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको विज्ञप्तिमा जनाइएको छ। उनीहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको विज्ञप्तिमा उल्लेख छ।

हालसम्म नेपालमा कोरोना संक्रमण पोजेटिभ पाइएकामध्ये ३५ जना निको भइसकेका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।