काठमाण्डौ । प्रदेश ३ को स्थायी राजधानी हेटौँडा र नाम बागमती राख्ने विषयमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र शुक्रबार सहमति जुटेको छ ।

नेकपा प्रदेश ३ संसदीय दलको पाँच दिनसम्म पटकपटक चलेको बैठकपछि शुक्रबार सहमति जुटेको हो । सहमतिअनुसार नेकपाले अब प्रदेशसभामा एउटामात्र प्रस्ताव दर्ता गराउनेछ । नेकपा सचिवालयको निर्देशनअनुसार प्रदेशसभामा स्थायी राजधानी हेटौंडा र नाम बागमती दर्ता गराउने भएको हो ।

प्रदेशसभामा नेकपाको ८० मत छ । जसमा प्रदेशको नाम र राजधानी टुंगो लगाउन ७४ मत भए पुग्छ ।

नामकरणभन्दा पनि स्थानको विषयलाई लिएर नेकपाभित्र विवाद सिर्जना भएको थियो । बहुमत सदस्य काभ्रेको पक्षमा रहँदा पटक/पटक बैठक स्थगित भइरहेको थियो ।