काठमाण्डौ । प्रफिट बुक गर्ने सर्टटर्म कारोबारीका कारण बुधबार बजारमा दोहोरो अंकको करेक्सन भएको छ ।
विगत ६ दिनदेखि बढिरहेको बजारका अधिकांश कम्पनीहरुले ५ देखि ८ प्रतिशतको हाराहारीमा रिटर्न दिएपछि त्यसलाई प्रफिटको रुपमा बुक गर्ने सर्टटर्म कारोबारीको हतारोले बजारमा १३.१६ अंकको गिरावट आएको हो।
विगत ५ दिनको दिनको अवधिमा ६३ अंक भन्दा बढीले बढेको बजार बुधबार एकैदिन दोहोरो अंकले घटेर नेप्से परिसूचक ११५०.१० को विन्दूमा सीमित हुन पुगेको छ ।
यो दिन मंगलबारको तुलनामा कारोबार रकम पनि १० करोड बढीले घटेको छ ।
विगतमा केही दिनसम्म लगातार बढिरहेको बजारमा राम्रा कम्पनी तथा वाणिज्य बैंकहरुको सेयरमा खरीदकर्ताको विशेष आकर्षण देखिएको थियो।
सर्टटर्म कारोबारीले समेत यिनै समूहका सेयरमा प्रफिट बुक गरेर बिक्री गरेका देखिएको छ ।
यो दिन राम्रा कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स २.७२ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.०१ अंकको गिरावट आएको छ ।
यो दिन वित्त समूह २.७४ अंकले वृद्धि भएको छ भने बाँकी सबै समूहको सूचकमा रातो पोतिएको छ ।
बैंकिङ समूह १०.५८ अंकले घटेको छ भने विकास बैंक समूहमा १७.६२ अंक, होटल समूहमा ४२.४५ अंक, जलविद्युत समूहमा २१.०९ अंक, जीवन बिमा समूहमा ७३.५१ अंक, निर्जीवन बिमा समूहमा ८९.०५ अंक, माइक्रोफाइनान्स समूहमा २१.६१ अंक, उत्पादनमूलकमा ३८.८१ अंक र अन्य समूहमा २.३९ अंकको गिरावट देखियो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७४ कम्पनीका १४ लाख ८० हजार ६२ कित्ता सेयर ४२ करोड ८३ लाख ४१ हजार १५२ रुपैयाँमा किनबेच भयो ।
सबैभन्दा बढी नेपाल क्रेडिट एण्ड कमर्स बैंकले २ करोड १२ लाख बढीको कारोबार गरेको छ ।
नागरिक लगानीकोषले २ करोड १ लाख, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ८६ लाख, अपर तामाकोशीले १ करोड ८४ लाख, माछापुच्छ्रे बैंकले १ करोड ५५ लाख, एनएमबी बैंकले १ करोड ५३ लाख, प्रभू बैंकले १ करोड ४६ लाख, सिभिल बैंकले १ करोड ४५ लाख, नेशनल लाइफ इन्स्योरेन्सले १ करोड ४१ लाख र एनआइसी एशिया बैंकले १ करोड ३३ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन यूनाइटेड फाइनान्सका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ९.४६ प्रतिशतले बढ्यो ।
आशा लघुवित्तको सेयर मूल्यमा ८.७२ प्रतिशतले बढोत्तरी भयो ।
यो दिन हाथ्वे फाइनान्स र अरुण कावेली पावर लिमीटेडका सेयरधनीले सबैभन्दा धेरै गुमाए । हाथ्वेको सेयर मूल्य ७.८७ प्रतिशत र अरुण कावेलीको मूल्य ७.७७ प्रतिशतले घट्यो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19