काठमाण्डौ । प्रफिट बुकिङको लहरले साताको तेश्रो कारोबार दिन मंगलबार नेप्सेमा दोहोरो अंकको करेक्सन आएको छ । 

यो दिन नेप्से परिसूचक १२.०९ अंकले करेक्सन भई १३३७.०४ को विन्दूमा सीमित बन्न पुगेको हो । 

पछिल्लो समय बजारमा दैनिकजसो बढोत्तरी भइरहेको थियो । बजारको बुल रनमा आफूले लगानी गरेको कम्पनीको सेयर मूल्य समेत बढेपछि लगानीकर्ताहरुले प्रफिट बुकको हतारो गरेका देखिएको छ । प्रफिट बुकको यही हतारोले मंगलबारको बजारलाई घटाइदिएको हो । 

यो दिन समेत अघिल्ला दिनहरु झै ब्रोकर हाउसका लगानीकर्तामा बिमा कम्पनी र माइक्रोफाइनान्स कम्पनीको सेयर चर्चाको केन्द्रमा रह्यो । वाणिज्य बैंकको सेयर मूल्य बढ्ने आम अपेक्षाको बीच अवस्था उल्टो बन्दै गएको छ । बैंकहरुको दोश्रो त्रैमासको वित्तीय विवरण सन्तोषजनक नआएको अवस्थामा यो सेक्टरबाट आउने रिटर्न समेत घट्नसक्ने आँकलनसहित लगानीकर्ताहरु दोश्रो बजारमै सर्टटर्म लगानी गरी राम्रो रिटर्न हत्याउने दौडमा लागेका देखिएको छ । यहीकारण केही दिनअघिदेखि चम्किरहेको बिमा र माइक्रोफाइनान्स सेक्टरमै लगानीकर्ताको आकर्षण जारी रहेको छ । 

यी दुई क्षेत्र बाहेक संभावित मर्जरको हल्लाका कारण केही विकास बैंकको सेयरमा समेत आकर्षण देखिएको छ । केही बित्त कम्पनीका सेयरमा समेत खरीदबिक्रीको दौड देखिएको छ । 

नागरिक लगानीकोषले स्टक डिलरको रुपमा चाँडै बजारमा प्रवेश गर्ने हल्लाले यो कम्पनीको सेयरमूल्यमा समेत बढोत्तरी देखिएको छ । 

यो दिन बैंकिङ समूह करिब १४ अंकले घटेको छ भने व्यापार समूह ७.७२ अंक, होटल समूह ७४.२३ अंक, जलविद्युत समूह १६.४८ अंक, उत्पादन तथा प्रशोधन समूह ११.५५ अंक, माइक्रोफाइनान्स समुह २२.८८ अंक, जीवन बिमा समूह ७६.६१ अंक र म्युचुअल फण्ड समूह ०.१४ अंकले घटे । 

यो दिन विकास बैंक समूहको उपसूचक ५.०१ अंकले बढ्यो भने निर्जीवन बिमा समूह २८.७९ अंक, बित्त समूह ०.६३ अंक र अन्य समूहको उपसूचक ०.९ अंकले बढ्यो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७६ कम्पनीका ४९ लाख ४९ हजार १५ कित्ता सेयर १ अर्ब ५७ करोड १ लाख ६६ हजार १६३ रुपैयाँमा किनबेच भएको छ। 

सबैभन्दा बढी नेपाल इन्स्योरेन्स १० करोड बढीको कारोबार गरेको छ । नेको इन्स्योरेन्सले ६ करोड १३ लाख बढीको कारोबार गरेको दिन नेपाल लाइफले ४ करोड ५२ लाख, ज्योति विकास बंैक ४ करोड ४० लाख, गरिमा विकास बैंकले ३ करोड ८० लाख, प्रभू बैंकले ३ करोड ७५ लाख, ग्लोबल आइएमई बैंकले ३ करोड ७४ लाख, सानिमा माई हाइड्रोले ३ करोड ५९ लाख, सिद्धार्थ इन्स्योरेन्सले ३ करोड ५० लाख र सूर्या लाइफ इन्स्योरेन्सले ३ करोड ४० लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन दुईवटा कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लागेको छ । सपोर्ट माइक्रो फाइनान्सको सेयर मूल्य र दिव्यश्वरी हाइड्रोको मूल्यमा सर्किट लागेको हो । 

नेशनल हाइड्रोपावर कम्पनीको मूल्यमा ८.४७ प्रतिशतले बढेको छ । 

यो दिन मिथिला लघुवित्तको मूल्य सबैभन्दा धेरै घट्यो । कम्पनीको सेयर मूल्यमा ५.२३ प्रतिशतको गिरावट आयो ।