काठमाण्डौ । कोभिड-१९ को संक्रमणबाट प्रभावित व्यवसायीलाई चालु आर्थिक वर्ष २०७८/७९ का लागि विशेष छुटको व्यवस्था गरिएको छ। 

आन्तरिक राजस्व विभागले कोभिड प्रभावित कारोबारमा ७५ प्रतिशतसम्म कर छुट व्यवस्था गरेको हो। जसअनुसार ३० लाख रुपैयाँसम्मको कारोबार वा ३ लाख रुपैयाँसम्म आय भई आयकर ऐन, २०५८ को दफा ४ को उपदफा (४) बमोजिम कर लाग्ने करदातालाई आय वर्ष २०७८/७९ मा लाग्ने करमा ७५ प्रतिशत छुटको व्यवस्था गरेको छ। 

सोही दफाको उपदफा (४क) बमोजिम कारोबारका आधारमा कर बुझाउने ३० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको कारोबार भएका करदातालाई आय वर्ष २०७८/७९ मा लाग्ने करमा ५० प्रतिशत छुटको व्यवस्था विभागले गरेको छ। 

होटेल, ट्राभल, ट्रेकिङ, चलिच व्यवसाय (निर्माण, वितरण तथा प्रदर्शन), पार्टी प्यालेस, सञ्चारगृह (मिडिया हाउस) वा यातायात सेवाको एक करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने बासिन्दा व्यक्तिलाई आय वर्ष २०७८/७९ मा आफ्नो व्यावसायिक उद्देश्यअनुरुपको आयमा आयकर ऐन, २०५८ बमोजिम लाग्ने करमा ५० प्रतिशत छुट हुने विभागले जनाएको छ।