काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष  २०८०/०८१ को पहिलो त्रैमासिक वित्तीय विवरण बिहीबार सार्वजनिक गरेको छ ।

प्रकाशित वित्तीय विवरण अनुसार उक्त अवधिमा कम्पनीको खुद नाफासँगै प्रतिशेयर आम्दानी बढेको छ । कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २१ प्रतिशतले वृद्धि भएको छ ।

गत आवमा ४ करोड १७ लाख रुपैयाँ नाफा कमाएको उक्त कम्पनीले चालूको आवको उक्त अवधिसम्ममा ५ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको तुलनामा चालू आवमा कम्पनीको कुल आम्दानी ३२ प्रतिशतले वृद्धि भएको छ ।

गत आवमा कम्पनीको कुल आम्दानी १८ करोड ९४ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर २५ करोड ३ लाख रुपैयाँ पुगेको छ । 

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ १४ पैसा रहेकोमा चालू आवमा बढेर १४ रुपैयाँ ७३ पैसा पुगेको हो ।

चुक्तापूँजी १ अर्ब ३७ करोड रुपैयाँ रहेको कम्पनीले रिटेन्ड अर्निङमा ९ करोड ५४ लाख रुपैयाँ र महाविपत्ति कोषमा ८ करोड ६४ लाख रुपैयाँ सञ्चित गरेको छ ।

हाल कम्पनीको मूल्य आम्दानी अनुपात ४४ गुणा र प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ रहेको छ ।