काठमाण्डौ । प्रभु बैंक लिमिटेडले रु. २ अर्बको ऋणपत्र साउन १९ गतेदेखि बिक्री खुलाउने भएको छ।

बैंकले प्रतिकित्ता रु. १ हजार अंकित २० लाख कित्ता ऋणपत्र बिक्री खुलाउने भएको हो। कुल ऋणपत्रमध्ये ८ लाख इकाइ ऋणपत्र अर्थात कुल रु. ८० करोड ऋण पुँजी रकम (५ प्रतिशत अर्थात ४० हजार इकाइ सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको) र बाँकी ७ लाख ६० हजार इकाइ ऋणपत्र अर्थात कुल रु. ७६ करोड ऋण पुँजी सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ। बाँकी १२ लाख इकाइ ऋणपत्रले हुन आउने कुल रु. १ अर्ब २० करोड ऋणपुँजी रकम विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई व्यक्तिगत तबरबाट बिक्री गरिनेछ। 

‘प्रभु बैंक डिबेन्चर २०८४’ नामक यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतम ३ लाख इकाइसम्म ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्। ऋणपत्र निष्कासन बन्द छिटोमा साउन २३ गते र ढिलामा भदौ १ गते बैंकिङ समयपछि बन्द हुनेछ। 

लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्। यो ऋणपत्रलाई केयर रेटिङ नेपालले केयर एनपी त्रिपल बी रेट्रि प्रदान गरेको छ। यो रेटिङ प्राप्त गर्ने उपकरणहरु समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित मानिन्छ।

प्रभु बैंकको यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। यस ऋणपत्रमा लगानी गर्नेले वार्षिक १० प्रतिशतका दरले ब्याज पाउनेछन्। 

यो ऋणपत्र २०८४ सालमा परिपक्व हुनेछ। 

यसअघि पनि बैंकले रु. १ अर्बको ऋणपत्र बिक्री गरिसकेको छ।