काठमाण्डौ । प्रभु म्युचुअल फण्ड अन्तरगत सञ्चालन हुने प्रभु सेलेक्ट फण्डको प्राथमिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएको छ । 

बोर्डले २०७७ बैशाख १३ गते प्रभु सेलेक्ट फण्डको निष्काशनका लागि स्वीकृति दिएको हो । 

प्रभु सेलेक्ट फण्ड प्रभु क्यापिटल लिमिटेडले व्यवस्थापन गर्न लागेको पहिलो सामूहिक लगानी योजना हो । यो योजना १ अर्ब रकम बराबरको रहेको छ, जसमा १० करोड युनिट रहनेछन् । 

प्रभु क्यापिटलले निष्काशन तथा व्यवस्थापन गर्ने यो योजनाको ट्रष्टिको रुपमा प्रभु बैंक रहेको छ । 

कुल १० करोड युनिटमध्ये १.५ करोड युनिट प्रभु बैंक र प्रभु क्यापिटलले कोषको ट्रष्टि एवं व्यवस्थापकको रुपमा खरिद गर्नेछन् भने बाँकी ८.५ करोड युनिट सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुलाई खरिद गर्न खुला गर्ने तयारी क्यापिटलले गरेको छ ।  

प्रभु क्यापिटलले प्रभु सेलेक्ट फण्ड नाममा व्यवस्थापन गर्न लागेको यो योजना अहिलेसम्म सञ्चालनमा आएका सामूहिक लगानी योजनाभन्दा पृथक रहने कम्पनीले जनाएको छ । यसले एकपटकमा बढीमा ३० वटासम्म कम्पनीहरुमा लगानी गरी आफ्नो अलग्गै बेञ्चमार्क बनाउनेछ, जसलाई नेप्से ३० बेञ्चमार्कको रुपमा लिएर पनि लगाीकर्ताले यसमा लगानी गर्न सक्नेछन् ।

७ वर्षे अवधि रहेको यो सामूहिक लगानी योजना बन्दमुखी योजना हो । यसले सात वर्षको अवधिमा लगानीकर्तालाई करिब ३ गुणासम्म प्रतिफल प्रदान गर्ने लक्ष्य राखेको क्यापिटलले जनाएको छ । आफूसँग रहेको बचतलाई लगानीमा परिणत गर्दै दीर्घकालमा उच्च प्रतिफल चाहने लगानीकर्ताहरुले ढुक्कसँग यो सामूहिक लगानी योजनामा लगानी गर्नसक्ने क्यापिटलको भनाई छ । 

प्रभु क्यापिटलले लगानी व्यवस्थापन तथा योजना व्यवस्थापनका लागि नेपाली पूँजी बजारमा उपलब्ध सबैखाले स्रोतहरुको उच्चतम प्रयोग गर्दै आएको छ । हालको अवस्थामा पनि क्यापिटलले विभिन्न स्रोतबाट जुटाएर गएको १ वर्षयता करिब २ अर्ब बराबरको लगानी व्यवस्थापन गर्दै आएको छ, जसको औषत प्रतिफल निकै आकर्षक रहेको छ, जुन नेप्सेको औषत प्रतिफलभन्दा उच्च रहेको छ ।