काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा आज टीएमएस(ट्रेडिङ मेनेजमेन्ट सिस्टम) मा उत्पन्न समस्या बारे अर्थमन्त्रालयका प्रतिनिधि समेतको सहभागितामा छलफल भएको छ।

बिजशाला स्रोतका अनुसार भर्खरै नेप्सेका सीइओसहित उच्च अधिकारी , अर्थमन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य, उपसचिव रमेश अर्याल र सिस्टम भेण्डर कम्पनी वाइको प्रालिबीच त्रिपक्षीय छलफल भएको हो । 

पछिल्लो समयमा टीएमएसमा उत्पन्न समस्याबारे प्रधानमन्त्रीले नै चासो देखाएपछि नियामक नेपाल धितोपत्र बोर्ड र नेप्सेका कार्यकारी प्रमुखलाई वस्तुस्थिति बारे बुझ्न अर्थमन्त्रालयमा हिजो मात्रै सोमबार बोलावट भएको थियो । यसलगत्तै सिस्टममा देखिएको गम्भीर समस्याबारे छलफल गर्न मंगलबार नेप्सेमा तीनै पक्ष सहभागी भएका हुन् । 

बैठकमा सहभागी एक अधिकारीका अनुसार वाइको प्रालिले सिस्टममा उत्पन्न समस्या हलका लागि तत्काल, अल्पकाल र दीर्घकालमा गर्नुपर्ने कामहरुबारे अवगत गराएको छ । 

यस्तै नेप्से र ब्रोकर कम्पनीहरुले गर्नुपर्ने दायित्वका बारे पनि गम्भीर छलफल भएको स्रोतको जिकिर छ ।

अर्थमन्त्रालयका अधिकारीहरुसमेत सम्मिलित उक्त बैठकमा समस्या समाधानका निम्ति आवश्यक नीति परिवर्तन गर्नुपर्ने भएमा समेत अघि बढी समस्या हल गर्नुपर्ने विषय जोडदार रुपमा उठेको सहभागी एक अधिकारीले बताए ।

आगामी साताको आइतबारसम्म टीएमएसमा उत्पन्न समस्या हल गर्ने वाइको प्रालिले प्रतिवद्धता जाहेर गरेको नेप्सेस्थित स्रोतले बताएको छ ।

त्रिपक्षीय छलफलमा सफ्टवेयर भेण्डर कम्पनी स्वदेशकै भएकाले समेत ब्रोकर, लगानीकर्ता र नियामक धितोपत्र बोर्डले बीच–बीचमा आवश्यक फिचरहरु जडान गर्न दिइएको निर्देशन समेत वाइको प्रालिले सरासरी गरिदिनाले समेत प्राविधिक समस्या बढेर गएको निचोड निस्केको थियो ।

नेप्सेले वाइको प्रालिसँग ५ लाख लगानीकर्ता धान्ने क्षमतामा सम्झौता गरेको नेप्सेस्थित स्रोत बताउँछ । तर ५ लाख लगानीकर्ता चाहिँ अफलाइन समेत धान्ने क्षमता बनेको हो । न्यूनतम १० प्रतिशत अनलाइन युजरलाई धान्नका निम्ति सोही किसिमले सिस्टम तयार भएको अर्थात् ५० ब्रोकर कम्पनीमध्ये एक ब्रोकर कम्पनीमा १ हजार अनलाइन प्रयोगकर्ताका लागि मात्रै नेप्सेले वाइको प्रालिसँग सम्झौता गरेको बताइएको छ । पछिल्लो तथ्याङ्कअनुसार नेप्सेबाट अनलाइन युजर र पासवर्ड लिई सेयर कारोबार गर्नेको संख्या ८३ हजार नाघिसकेको छ । अर्थात प्रतिब्रोकर अनुमानित प्रयोगकर्ताभन्दा दोब्बर हाराहारी पुगेको छ, जुन आगामी दिनमासमेत  उल्लेख्य बढ्ने सम्भावना रहेको छ । यसैकारणसमेत अहिले नै अनलाइन प्रयोगतकर्ता ह्वात्तै बढेकाले समेत नेप्से र स्टक ब्रोकरले सिस्टमको क्षमता नबढाए समस्या पुनः दोहोरिने संभावना बढेको निश्कर्ष समेत बैठकमा निस्किएको थियो ।