काठमाण्डौ । पछिल्लो स्थानीय तहको निर्वाचनपछि राजनीतिमा आशालाग्दा पात्रको रुपमा हेरिएका जनप्रतिनिधिहरु समेत निरकुंश शैलीका कारण स्खलित हुँदै गएका छन् । 

केही दिनअघि काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले अश्लील शब्द प्रयोग गरेर सरकारलाई गाली गरेपछि उनको चर्को आलोचना भएको थियो । आलोचनाकै कारण सरकारलाई ‘चोर’ भन्दै सिंहदरबारमा आगो लगाउने धम्की दिइएको फेसबुक स्टाटस उनले डिलिट नै गर्नुपरेको थियो । 

बालेनसँग निकै गहिरो दोस्ती भएका र पछिल्लो समय आशाको केन्द्रको रुपमा हेरिएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पनि पछिल्लो समय एकपछि अर्को विवादमा तानिन थालेका छन् । 

केही समयअघि इसाई धर्मावलम्बी र हिन्दूबीच झगडा लगाउने गरी भूमिका खेलेको आरोप लागेका उनले त्यो प्रकरण सेलाउन नपाउँदै जनतालाई थर्काउँदै प्रश्न समेत गर्न नदिएको एउटा घटना सार्वजनिक भएको छ । 

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियोमा एक युवकले पानी नआएको, स्थानीय एक घरमा आमाछोरा बस्ने गरे पनि उनीहरुको स्वास्थ्य अवस्था दयनीय भएको, छोराको फोक्सोबाट पानी र पिप बगिरहेको, अलपत्र परेका त्यस्ता व्यक्तिलाई उद्धार गर्नुको साटो मेयर भने फोटो खिच्दै हिँडेको भन्दै प्रश्न उठाएका थिए । 

उनलाई हर्क साम्पाङले प्रश्न नै गर्न नदिने प्रयास गरेका भिडियोमा देखिन्छ । तर, ती युवकले प्रश्न गर्न पाइन्न ? बोल्न पाइन्न ? तपाईले चाहिँ जति पनि बोल्दा हुने, हामीले बोल्नै नपाउने ? भनेर प्रश्नहरु गरेका छन् । मेयर साम्पांगले पटक पटक धम्कीपूर्ण शैलीमा ती युवकलाई चूप बस्न आग्रह गरेका छन् । तर, ती युवकले प्रश्न तेस्र्याइरहेका र नरोकिएका भिडियोमा देखिन्छ । 

त्यहाँ केहीबेर चर्काचर्की र घम्साघम्सी परेको समेत देखिन्छ । 

पछि ती युवकलाई आफूले गर्न लागेको कार्यक्रम भाँड्न खोजेको आरोप लगाएर मेयर हर्क साम्पांगले नगर प्रहरी लगाएर पक्राउ गरेका स्थानीयले बताएका छन् । पक्राउ परेका ती युवकलाई धरान प्रहरीको जिम्मा लगाइएको छ । हाल मेयरलाई प्रश्न गरेकै कारण ती युवक प्रहरी खोरमा पुगेका छन् । 

मेयर साम्पाङको यो कार्यको चौतर्फी आलोचना भइरहेको छ । हर्कले आफ्नो शासनकालमा नागरिकहरुलाई कुन स्तरको व्यवहार गर्छन भन्ने कुरा छर्लङ्ग देखाइदिएको भिडियो निकै भाइरल समेत भएको छ । 

को थिए ती युवक ?
शुक्रबार धरान–१५ मा लागूऔषध सचेतना गरिरहेका मेयर साम्पाङलाई डेंगुले मान्छे मरिरहेको अवस्थामा तपाईँ बाटोमा अर्कै कार्यक्रम गर्ने भनेर प्रश्न सोध्ने ती व्यत्तिः थिए स्थानीय अशोक लिम्बु।

उनलाई हाल धरान प्रहरीको हिरासतमा राखिएको छ । 

लिम्बूविरुद्ध हालसम्म कतैबाट पनि उजुरी नआएको र नगर प्रहरीले जिम्मा दिएपछि हिरासतमा राखिएको धरान प्रहरीको भनाई छ । 
हिरासतमा रहेका लिम्बूले स्थानीय सञ्चारकर्मीसँग प्रश्न गरेकै कारण तानाशाही ढंगले आफूलाई पक्राउ गरिएको, कुटपिट समेत भएको भन्दै न्यायको माग गरेका छन् । 

मेयरको सन्की शैली र प्रश्न गरेकै कारण स्थानीय युवालाई पक्राउ गरेपछि आक्रोशित स्थानीयबासीले लिम्बूलाई तत्काल रिहा गर्न माग गरेका छन् । त्यसो नगरे मेयरविरुद्ध नै आन्दोलन थाल्ने स्थानीयले चेतावनी दिएका छन् । 

भिडियो: