-भक्तराज रसाइली

काठमाण्डौ । सेयर लगानीकर्ता दवाब समूहका अध्यक्ष हरि ढकालले आफूहरुले थालेको आन्दोलन पूँजीबजारलाई प्राकृतिक बनाउनमा केन्द्रीत भए पनि यसको विषयमा दुष्प्रचार भएको भन्दै रोष प्रकट गरेका छन् । 

प्रहरी नियन्त्रणमा रहेकै बेला बिजशाललाई संक्षिप्त अन्तर्वार्ता दिंदै अध्यक्ष ढकालले बजारलाई प्राकृतिक गतिमा कुद्न दिनुपर्छ भन्ने मान्यता राख्ने आफूहरुको शान्तिपूर्ण आन्दोलन तुहाउने षड्यन्त्र भएको दाबी समेत गरे । 

पूँजीबजार सुधारका ३२ बुँदे माग राखी सोमबारदेखि अनिश्चितकालीन रिले अनसन थालेको दवाब समूहको अध्यक्ष ढकालसहित अन्यलाई मंगलबार अनसन बस्न जाने क्रममा नेप्से कार्यालय छेउबाट प्रहरीले पक्राउ गरेको थियो । 

धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई घुमाउरो ढंगले लगानीको वातावरण बिगार्ने तत्वको रुपमा प्रस्तुत गर्दै ढकालले उनीहरुले आफ्ना काला कर्तुत, त्यहाँ भइरहेको चरम भ्रष्टाचारलाई ढाकछोप गर्न आफूहरुको आन्दोलन र उठाएका मागको विषयमा अर्थ मन्त्रालयलाई  गलत रिपोर्टिङ गरेका समेत दाबी गरे । 

‘हामी प्रधानमन्त्री केपी ओलीको समृद्ध नेपाल, सुखी नेपालीको नारममा एक ढिक्का भएर लागेका छौ । यो अभियानको हामी पनि एउटा इँटा हौ ।’ उनले भने–‘तर, नेप्से र बोर्डले अर्थमन्त्रालयमा गलत रिपोर्टिङ गरेर जायज मागलाई दबाउन खोजेका छन् । अर्थमन्त्रालयको यसतर्फ ध्यान जाओस् ।’ 

उनले अनलाइन कारोबार प्रणालीलाई समस्याग्रस्त बनाई सोझा लगानीकर्तालाई लुट्ने काम भएको भन्दै यो खेलमा संलग्नहरुको भण्डाफोर गर्ने चेतावनी समेत दिए । 

अर्थमन्त्रालयले गर भनेर निर्देशन दिएका काम नभएपछि ती काम हुनुपर्छ भनेर शान्तिपूर्ण आन्दोलन गरी आफूहरुले अर्थलाई सहयोग गरिरहेको समेत उनको दाबी थियो । 

उनले लगानीकर्ता सम्मेलनलाई प्रभावित पार्ने गरी आन्दोलन थालिएको भनी आफूहरुविरुद्ध अफबाह फैलाइएको समेत दाबी गरे । 

उनले अरु के भने ? हेर्नुहोस् भिडियो: