काठमाण्डौ । प्राइम कमर्सियल बैंकमा विलय हुन लागेको कैलाश विकास बैंकको सेयरमूल्य समायोजन गरिएको छ ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले गत आर्थिक वर्षका लागि बैंकले प्रस्ताव गरेको १६ प्रतिशत बोन सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सेयरमूल्य समायोजन गर्दै यो बैंकको प्रतिकित्ता सेयर २०५.१७ रुपैयाँ कायम गरेको छ ।

प्राइमसँग गाभिने सम्झौतापश्चात असार २२ गतेपछि बैंकको दोस्रो बजारमा सेयर कारोबार रोक्का छ।

प्राइमसँग गाभिने र लाभांश पारित मुख्य एजेन्डासहित कैलाशले यही पुस २५ गते शुक्रबार काठमाण्डौको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा आफ्नो २६ औँ वार्षिक साधारणसभा डोकेको छ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी बैंकले प्रस्ताव गरेको कुल १८.७७ प्रतिशत लाभांश पारित हुनेछ । प्रस्तावित लाभांशमा १६ प्रतिशत बोनस सेयर र २.७७ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेको छ ।

सभामा कैलाशलाई प्राइमले प्राप्ति गर्नेसम्बन्धी भएका कार्य र निर्णयहरु पारित हुनेछ । दुवै बैंकको सञ्चालक समितिले स्वीकार गरेको कैलाशको १०० कित्ता सेयरलाई प्राइमको ९४ कित्ता (१ः०.९४) सेयर स्वाप अनुपात सभाले पारित गर्नेछ ।

यसैगरी गत असोज १५ गते दुवै बैंकबीच प्राप्ति गर्ने सम्बन्धमा भएका लिखित सम्झौताहरुलगायत सोसँग सम्बन्धित संयुक्त मर्जर समिति एवं बैंक सञ्चालक समितिबाट भएका सम्पूर्ण निर्णयहरु स्वीकृत एवं अनुमोदन गर्नेछ।
प्राप्तिपछि बैंकको नाम प्राइम कमर्सियल बैंक लिमिटेड रहेनछ र रजिस्टर्ड तथा कर्पोरेट कार्यालय काठमाण्डौको कमलापोखरीमा रहने निर्णय पनि स्वीकृत हुनेछ ।