काठमाण्डौ । बुलिस गतिमा दौडिरहेको दोश्रो बजारको प्रभाव प्राथमिक बजारमा पनि प्रष्ट देखिन थालेको छ । यहीकारण विभिन्न कम्पनीहरुले पछिल्लो समय निश्कासन गरेका आइपीओमा समेत अचाक्ली आवेदन पर्न थालेको छ । 

हिजोदेखि आइपीओ निश्कासन गरेको युनाइटेड इदी–मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेड त्यसकै एक उदाहरण हो । यो जलविद्युत कम्पनीको आइपीओमा दोश्रो दिन अपरान्हसम्म मागभन्दा ५.५७ गुणा बढी सेयरका लागि आवेदन परिसकेको छ । 

सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइपीओ निश्कासन भएको दोश्रो दिन बिहीबार २ लाख २६ हजार ३४३ आवेदकले  ४५ लाख २९ हजार ६८० कित्ता खरीदका लागि आवेदन दिएका छन् । 

कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ७३ हजार ९१० कित्ता आईपीओ निष्कासन गरेको हो । 

निष्कासन गरिने कुल सेयर संख्यामध्ये ४३ हजार ६९६ कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी ८ लाख १२ हजार ७३६ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। 

कम्पनीको यो आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस ९आइएस०’ रेटिङ प्रदान गरेको छ। यो रेटिङले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

यो कम्पनीको कास्कीको ल्वाङघलेमा रहेको मार्दी खोलामा ७ मेगावाट क्षमताजडित अपरमार्दी हाइड्रोपावर प्रोजेक्ट रहेको छ। कम्पनीको मुख्य कार्यालय ललितपुरको सानेपामा रहेको छ।