काठमाण्डौ । चालु आर्थिक वर्षमा प्राथमिक बजारमार्फत पुँजी परिचालन ९३.३ प्रतिशतले बढेको छ। 

सरकारले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो। 

सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म प्राथमिक बजारमार्फत ४१ अर्ब ४६ करोड रुपैयाँबराबरको पुँजी परिचालन भएको छ। जुन गत आर्थिक वर्षको यही अवधिको तुलनामा ९३.३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा साधारण सेयरको प्राथमिक बजारमार्फत २१ अर्ब ४५ करोड रुपैयाँ पुँजी परिचालन भएको थियो।

समीक्षा अवधिमा साधारण सेयरको प्राथमिक निष्कासनमार्फत ५ अर्ब ७६ करोड रुपैयाँ, हकप्रद सेयर निष्कासनमार्फत ९५ करोड रुपैयाँ, ऋणपत्रमार्फत २७ अर्ब रुपैयाँ र म्युचुअल फन्डमार्फत ७ अर्ब ७५ करोड रुपैयाँ पुँजी परिचालन भएको छ। 

चालु आर्थिक वर्षको फागुसम्म कुल पुँजी परिचालनमा ऋणपत्रको अंश करिब ६५ प्रतिशत रहेको छ। यसले पछिल्लो समय ऋणपत्र निष्कासनमार्फत पुँजी संकलन गर्ने प्रवृत्ति बढ्दै गएको सरकारको ठम्याइ छ।