काठमाण्डौ । कारोबार भोल्युमको बलियो सपोर्टका कारण अब नेप्से २६८८ विन्दुको रेन्जमा पुग्ने प्राविधिक विश्लेषणले देखाएको छ।

अघिल्लो साताको ५ दिन नै खुलेको धितोपत्र बजारमा नेप्से परिसूचक ५१ अंकले वृद्धि भई २४२४.३० अंक कायम भएको थियो। परिसूचक २४५० कै हाराहारी घुमिरहे पनि टर्नओभरको भोल्युमले निकै राम्रो सपोर्टसमेत गरिरहेको छ।

बुलिस ट्रेन्डमा कुदिरहेको बजारमा सानातिना करेक्सन झेल्दै अघिल्लो साताको अन्तिम दिन बिहीबार बजार घटेर बन्द हुन पुग्यो। अब यो साता नेप्से परिसूचक २४६३ विन्दुलाई ब्रेक नगरेको खण्डमा बजार केही समय अलमल (साइडवेज) मा जाने सम्भावना रहेको सेयर बजार प्राविधिक विश्लेषक अशोककुमार शाह दाबी गर्छन्। यो अलमल कति दिनको हुने भन्ने चाहिँ प्राविधिक एंगलबाट कहिल्यै भन्न नसकिने उनको भनाइ छ। ‘यति नै भन्ने हुन्न, यो एक दिन पनि हुन सक्छ वा २ दिन पनि तर यकिन गरी यति नै दिन भन्ने चाहिँ हुन्न’, शाह भन्छन्।

अघिल्लो बुलमा पनि अहिलेजस्तै हुरहुरी बजार बढिरहेको र नोटिस नै गर्ने किसिमको करेक्सन भने बजारले नलिएको जिकिर गरेका प्राविधिक विश्लेषक शाह बजार लगातार बढ्दा ओभर बाउट भयो भनी करेक्सन होला कि भन्न खोज्नु स्वभाविक भएको बताउँछन्। करेक्सन भई हाले पनि ठूलो करेक्सन भने नआउने उनले दाबीसमेत गरे। आम लगानीकर्तालाई ससाना करेक्सनलाई खरिदको सुवर्ण अवसरका रुपमा लिन उनको सुझाव छ।

प्राविधिक विश्लेषक शाह आरएसआईले पनि बाइङ जोन सस्टेन नै रहेको र एमएसीडीले समेत बाइङ जोन नै देखाएको जिकिर गर्छन्। ‘एमएसीडीले टप गरेपछि केही समय करेक्सन आउने र बटम नलगाउँदासम्म साइडवेज पनि हुन सक्ने संकेत गरेको छ’, उनले बिजशालासँग भने, ‘प्राइस एक्सनमा टप साइड फ्राक्टल कन्फर्म भएको छ। फ्राक्टल ब्रेकआउट नआउँदासमम्म यसले प्राइसलाई डाउनसाइड डोमिनेट गर्छ।’

शाहका अनुसार अघिल्लो साता नेप्से २४४७ को पिभोट रेसिस्टेन थियो। ‘अघिल्लो साता टेष्ट गरेर त्यसैको वरिपरि क्लोज भएको छ। तत्काल २२९० को पिभोट सपोर्ट देखिन्छ’, उनी भन्छन्, ‘नेप्सेको २० दिनको मुभिङ एभरेज सपोर्ट २२९२ छ र तत्काल पिभोट सपोर्ट २२८७ छ, औसतमा भन्नुपर्दा २२९० नै हुन आउँछ।’

‘नेप्से २०, ५०, २०० मुभिङ एभरेजभन्दा माथि कारोबार भइरहेको छ, जुन आफैँमा बुलिस बजारको संकेत हो’, शाह भन्छन्, ‘भोल्युमले पछि बुलिस मुभलाई समेत सपोर्ट गरेको छ।’

साप्ताहिकमा हेर्नुपर्दा बोलिगंर ब्यान्डसँगै नेप्से ट्रेड भइरहेको, एमएसीडीले पनि स्पष्ट खरिद सिग्नल र आरएसआईले स्पष्ट खरिद सिग्नल दिइरहेको शाहले बताए। 

नेप्सेले ०.६८ (२९८ र १८८८ बीच) नेप्सेमा १ मार्च २०१२ मा २९८ लो बनाएको र ३ जुलाई २०१६ मा १८८८ विन्दु देखिन्छ। यसैगरी ३ नोभेम्बर २०१९ मा १०९८ बनाएको थियो र यो तीनैबीच फिमोनासी एक्सटेन्सन ०.७८८ टेस्ट गरेको छ। ‘नेप्सेले भर्खरै अबको अर्को टार्गेट फिबोनासी एक्सटेन्सन १ रहेको छ, जहाँ अब नेप्से २६८८ विन्दुको रेन्जमा पुग्न सक्छ’, विश्लेषक शाहले भने।

समूहगत इन्डेक्स कता जाला ?

वाणिज्य बैंक

बैंकले भने अझै फिबोनासी एक्सटेन्सन ०.७८६ टेस्ट गर्न बाँकी नै छ। जो १८०८ मा रहेको छ।

विकास बैंक

विकास बैंकले भने भर्खरै फिबोनेन्सी एक्सटेन्सन ०.७८६ टेस्ट गरिसकेको छ र अब अर्को टार्गेट फिबोनासी एक्सटेन्सन १ रहेको छ, जुन २७३६ को रेन्जमा रहेको देखिन्छ।

माइक्रोफाइनान्स

वित्तीय सेक्टरमा सबैभन्दा अगाडि माइक्रोफाइनान्स देखिएको छ। जसले फिबोनासी एक्सटेन्सन १६१८ टेस्ट गरेको छ र यो फिबोनासी एक्सटेन्सन २.६१८ नजिक रहेको छ, जुन ४७९५ टार्गेट रहेको छ। हाल ४१५६ विन्दुमा रहेको छ।

जीवन बीमा

माइक्रोफाइनान्ससरह फिबोनासी एक्सटेन्सन १.६१८ टेस्ट गरिसकेको छ। अबको टार्गेट फिबोनासी एक्सटेन्सन २.६१८ उन्मुख छ। जुन २१५८४ मा टार्गेट रहेको छ। हाल १७८२७ छ।

निर्जीवन बीमा

जीवन बीमाको तुलनामा निर्जीवन बीमा सुस्त छ। फिबोनासी एक्सटेन्सन १ टेस्ट गरिसकेको छ। फिबोनासी एक्सटेन्सन १.६१८ उन्मुख देखिन्छ। जुन १४३०० टार्गेट रहेको छ।

जलविद्युत्

४ वर्ष लामो वियरिसको रिकभरी फेजमा रहेको छ। ०.५ रिटयाच गरिसकेपछि जलविद्युतको अबको टार्गेट फिबोनासी एक्सटेन्सन ०.६१८ रहेको छ। जुन २०४२ हो। यसले जलविद्युतमा प्रशस्त सम्भावना रहेको देखाउँछ। अबको यसको सम्भावना २७८० जान सक्छ।

बुलसम्म अब बैंक र विकास बैंककै सम्भावना रहेको विश्लेषक शाह बताउँछन्।