– अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साताको दुई कारोबार दिनमा सेयर बजारमा बिक्रीचाप परेको देखिन्छ। आइतबारको तुलनामा आज सोमबार बजार घट्ने क्रम घटेको देखिन्छ भने कारोबार केही घटेको छ। यसले लगानीकर्ताहरु अलमलमा रहेको देखिन्छ।
प्राविधिक रुपमा सेयर बजारलाई विश्लेषण गर्नुपर्दा यो साता आइतबारको कारोबारको मैनबत्ती विश्लेषणअन्तर्गत रातो लामो मारुबुजु क्यान्डल बनेको थियो। सोमबारको कारोबारमा इन्भर्टेट ह्यम्मर बनेको छ। यस्तो आकृति यदि घट्दो बजारमा बन्छ भने बजारले जुनसुकै बेला बाटो परिवर्तन गर्न सक्छ भन्ने बुझ्नुपर्छ।
इलिअट वेभका आधारमा
यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।
इलिअट वेभमा बजार विश्लेषण गर्दा विभिन्न विकल्पलाई हेरिन्छ र सबैभन्दा बढी सम्भावना भएको एउटा विकल्पलाई मुख्य आधार बनाएर हामीले पाठकसामु ल्याएका छौँ। यही आधारमा बजारको विश्लेषण गर्नुपर्दा इन्टरमिडियट डिग्रीको वेभ ५ लगभग ३२२२ सम्म पुगेर सकिएको सम्भावना प्रबल देखिन्छ। अघिल्लोपटकको करेक्सन लगभग २५०० को विन्दुमा इन्टरमिडियट डिग्रीको वेभ (४) सकिएको हुनुपर्छ। जसअन्तर्गत अहिले सोही डिग्रीको वेभ (५) चलेको सम्भावना प्रबल देखिन्छ। यो डिग्रीको भित्र पनि माइनर डिग्री तथा मिनेट डिग्रीमार्फत बजारलाई नियाल्दा स–साना करेक्सन हुँदै जाने देखिन्छ। भलै बजार २५०० भन्दा तल नआउन्जेल बजार वेभ (५) नै चलेको र त्यहाँभित्रका स–सना वेभहरु (२,४) मा बजार करेक्सन नै हुन्छ। हाम्रो बुझाइमा यो माइनर वेभको भित्रको पनि दोस्रो वेभ हुनुपर्छ। (i) लगभग २८८० र वेभ (ii) करेक्सन भएर २५९५ सम्म आउन सक्छ र अब त्यहाँबाट केही समय लियर वेभ (iii) लगभग पहिलाको रेकर्ड ब्रेक गरेर ३२०० सम्म पुग्न सक्छ। त्यहाँबाट फिबोनासीको ३८.२ प्रतिशतको करेन्सनले बजार लगभग ३०८० सम्म फेरि वेभ (iv) बनाउँदै बजार तल आउन सक्छ। पुनः वेभ (v) मा बजार लगभग ३७०० सम्म पुग्न सक्ने देखिन्छ। (मुख्य तस्बिर माथि)
फिवोनासी सिद्धान्तका आधारमा
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कती कती प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवा २७८५ सम्म, ०.३८ प्रतिशतको टेवा २७३० सम्म, ०.५ प्रतिशतको टेवा २६८३ सम्म र ०.६१ प्रतिशतको टेवा २६३४ सम्म हुन सक्नेछ। फिवोनासी सिद्धान्तलाई आधार मानेर सेयर कारोबार गर्ने प्रोफेसनल टे«डरहरुले प्रायः ०.६१ प्रतिशतसम्मको करेक्सन कुर्ने भएकोले यो विन्दुमा अल्पकालीन लगानीकर्ता बजार पस्न सक्ने प्रबल सम्भवना रहेकोले बजार यहाँभन्दा तल तत्काल नजान सक्छ।
बोलिंगर ब्यान्ड र आरएसआईका आधारमा समूहगत विश्लेषण
बैंकिङ
बैंकिङ समूहको कारोबारले बनाएको रेखाचित्रमा आजको कारोबारमा रातो मारुबुजु बनेको देखिन्छ र बोलिंगर ब्यान्डको तल्लो विन्दुमा छोएको छ। यदि यो बिन्दुमा छोएर आगामी कारोबारमा हरियो मारुबुजु क्यान्डल बन्छ र ब्यान्ड केही खुम्चिन्छ भने बजार बढ्ने सम्भावना पनि रहन्छ। आरएसआई ३४ को ओभर सोल्ड जोन नजिक रहेकोले अब थप बिक्री चापभन्दा खरिद चाप पर्न सक्छ।
विकास बैंक
यो साता विकास बैंक समूहमा भने बोलिंगर ब्यान्डअन्तर्गत तल्लो विन्दुलाई छोएर ब्रेकआउट भएको छ। आरएसआई ओभर सोल्ड जोन नजिक ३८ मा पुगेको छ। यसले केही अंकको गिरावटपछि यो समूह सम्हालिन सक्ने देखिन्छ।
जलविद्युत्
बोलिंगर ब्यान्डअन्तर्गत यो समूहमा मूल्यरेखा मध्यरेखाभन्दा तल गएको छ। तर रातो क्यान्डल बनेको छ। यसले बिक्रीकर्ता हावी भएको बुझिन्छ आगामी कारोबार हरियो क्यान्डल बन्छ भने खरिद कन्र्फमेसन भएको बुझिन्छ। आरएसआई न्युट्रल जोनमा रहेको छ। यसले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बुझिन्छ। ब्यान्ड साँघुरिँदै गएकोले बजारमा अल्पकालीन लगानीकर्ता जुनसुकै समयमा हावी हुन सक्ने देखिन्छ।
लघुवित्त
लघुवित्त समूहमा बोलिंगर ब्यान्डअन्तर्गत मूल्यरेखाले तल्लो विन्दुलाई छोएर इन्भटे«ेड ह्याम्मर बनाएको छ। आरएसआई ३५ को तहमा अर्थात ओभर सोल्ड जोननजिक रहेकोले यो समूहमा कूनै पनि समयमा अल्पकालीन लगानीकर्ता हावी हुन सक्ने देखिन्छ।
जीवन बीमा
जीवन बीमा समूहमा बोलिंगर ब्यान्डअन्तगर्त मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएको छ र ब्यान्ड केही साँघुरिएको छ। आरएसआई ३० को तहमा रहेको छ। यो आधारमा यो समूहमा छिट्टै अल्पकालीन लगानीकर्ता प्रवेश गर्न सक्ने सम्भावना रहेको छ।
निर्जीवन बीमा
यो समूहको अवस्था पनि जीवन बीमा कम्पनीकै जस्तो नै छ। आरएसआई ३८ को जोनमा रहेको छ। यसले अझै केही सामान्य करेक्सन पछि मात्रै लगानीकर्ता प्रवेश हुने सम्भावना रहेको छ।
वित्त
वित्त समूहमा बोलिंगर ब्यान्डअन्तर्गत मूल्यरेखा तल्लो रेखामा छोएको छ। यसले कुनै पनि समयमा बजारले माथिको यात्रा तय गर्न सक्ने देखिन्छ।
अन्य
यो समूहमा बोलिंगर ब्यान्डअन्तर्गत मूल्यरेखा मध्यरेखाभन्दा माथि नै रहेको छ र रातो क्यान्डल बनेको छ। यसले बिक्रीकर्ता हाबी भएको देखिन्छ। आरएसआई ओभर बट जोनमा रहेकोले केही समय अझै करेक्सन हुन सक्छ।
लगानी समूह
यो समूहअन्तर्गत मूल्य रेखाले तल्लो विन्दुलाई छोएको छ। बोलिंगर ब्यान्ड भने फराकिलो बनेको छ। आरएसाआई ओभर सोल्ड जोननजिक रहेकोले यो क्षेत्रमा पनि निकट भविश्यमा अल्पकालीन लगानीकर्ता हावी हुन सक्ने देखिन्छ।
नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago